शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने

समाधान संवाददाता २०८२ पुष २४ गते १८:०७

पोखरा । नेपाल शिक्षक महासंघ कास्कीले आफ्नो पहिलो जिल्ला परिषद्को तयारीलाई तीव्र बनाएको छ । आगामी पुस २७ गते पोखराको जिरो किमी स्थित गोल्डेन हाउस पार्टी प्यालेसमा आयोजना हुने यस परिषद्मा शिक्षक सम्मान र अन्तर्क्रियाका साथै शिक्षकका हकहितका विषयमा व्यापक छलफल हुने महासंघका सहअध्यक्ष एवं परिषद् व्यवस्थापन समितिका संयोजक डिल्लीराम बरालले जानकारी दिए ।

Advertisement

परिषद्को अवसरमा ‘संघीय शासन प्रणालीमा विद्यालय शिक्षा र स्थानीय तहको भूमिका’ विषयक अन्तर्क्रिया समेत सञ्चालन गरिनेछ । महासंघले शिक्षक तथा कर्मचारीहरूलाई स्थानीय भत्ता दिने निर्णय कार्यान्वयन गराउन कास्कीका ५ वटै स्थानीय तहलाई दबाब दिने निर्णय यसअघि नै गरिसकेको छ । परिषद्मा स्थानीय भत्ता दिलाउन थप पहल गर्ने विषयमा विस्तृत छलफल हुने बरालले बताए ।

शिक्षक आन्दोलनका क्रममा महत्त्वपूर्ण योगदान पुर्‍याएका शिक्षकहरूलाई सोही अवसरमा विशेष सम्मान गरिने जिल्ला अध्यक्ष भोलानाथ पौडेलले जानकारी दिए । कास्की जिल्लाभरका शिक्षकहरूलाई परिषद्मा उपस्थित भई सक्रियतापूर्वक सहभागी हुन महासंघका सचिव हर्कबहादुर लामिछानेले आग्रह गरेका छन् । महासंघले शिक्षकका पेशागत सुरक्षा र सुविधाका सवालमा जिल्ला तहबाटै बलियो आवाज उठाउने लक्ष्य लिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया