बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र

समाधान संवाददाता २०८२ पुष २४ गते १८:१०

पोखरा ।

Advertisement

बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझ आयोजना गरिने भएको छ । प्रगतिशील लेखक संघ बागलुङको आयोजनामा आगामी माघ २४ गते बागलुङ बजारमा हुने यस कार्यक्रमका लागि आवश्यक तयारी सुरु गरिएको छ । लामो समयदेखि गीत–संगीतका माध्यमबाट गरिब, मजदुर, किसान र निमुखाका पक्षमा आवाज उठाउँदै आएका शर्मा बागलुङकै जैमिनी नगरपालिका ९ राङखानीका बासिन्दा हुन् ।

सांस्कृतिक साँझलाई व्यवस्थित बनाउन सचिवालय र विभिन्न उपसमितिहरू गठन गरिएको प्रगतिशील लेखक संघ बागलुङका अध्यक्ष विजय रानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न गत पुस १६ गते प्रगतिशील विचार राख्ने लेखकहरूको सर्वपक्षीय भेलाले रानाको संयोजकत्वमा मूल समिति बनाएको थियो । मूल समितिको बैठकले आर्थिक, प्रचारप्रसार, टिकट व्यवस्थापन, मञ्च तथा प्राविधिक, स्वयंसेवक र फोटो–भिडियो उपसमितिहरू गठन गरेको छ ।

Advertisement

जिम्मेवारी बाँडफाँड अनुसार आर्थिक उपसमितिको संयोजकमा विनोद प्रतीक थापा र सदस्यहरूमा तारानाथ आचार्य तथा रेजिना खत्री रहेका छन् । प्रचारप्रसार उपसमितिको नेतृत्व खेमराज गौतम सुवासलाई दिइएको छ भने सदस्यहरूमा ताराप्रसाद शर्मा र यमबहादुर थापा रहेका छन् । त्यसैगरी आश्विन शेखको संयोजकत्वमा टिकट व्यवस्थापन उपसमिति बनाइएको छ, जसमा घनश्याम कँडेल र अमृत सापकोटा सदस्य रहेका छन् ।

मञ्च तथा प्राविधिक उपसमितिको जिम्मेवारी दिलीप प्रतेललाई सुम्पिएको छ । स्वयंसेवक तथा सुरक्षा व्यवस्थापनको नेतृत्व रोहित सुनारले गर्नेछन् भने फोटो–भिडियो उपसमितिको संयोजकमा दिनेश जिसी र सदस्यमा सुजन रेग्मी रहेका छन् । सचिवालय समितिमा मूल संयोजकसहित सबै उपसमितिका संयोजकहरू रहने अध्यक्ष रानाले बताए ।

Advertisement

एकल साँझ सम्पन्न गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त रकम संकलनका लागि विभिन्न प्रायोजक, स्थानीय तह, संघसंस्था र टिकट बिक्रीलाई मुख्य स्रोत बनाइएको आयोजकले जनाएको छ । भ्रष्टाचार, महँगी र विसंगति विरुद्ध संगीतका माध्यमबाट लड्दै आएका शर्माको यो कार्यक्रम बागलुङका लागि विशेष हुने विश्वास लिइएको छ ।


तपाईको प्रतिक्रिया