एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता

समाधान संवाददाता २०८२ पुष २४ गते १८:२४

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ खेलकुद दिवस एक भव्य समारोहका बीच सुरु भएको छ । बिहीबार विद्यालयको प्रांगणमा आयोजित तीन दिने खेलकुद समारोहलाई शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले एसओएसले निश्चित मूल्य मान्यतासहित राष्ट्रको गुणस्तरीय शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए । उनले अनुशासित भएर खेलमा सहभागी भए विद्यार्थीको शारीरिक तन्दुरुस्तीका अतिरिक्त सिकाइ प्रक्रियामा समेत सहयोग पुग्ने धारणा राखे । ‘खेलमा भविष्य देख्ने विद्यार्थीहरू पछि यही आधारशिलामा टेकेर आफ्नो नाम राष्ट्रियदेखि अन्तर्राष्ट्रिय जगतसम्म चम्काउन सफल हुन्छन्,’ उनले भने ।

Advertisement

विद्यालयका खेलकुद शिक्षक दीपकबाबु नेपालीले ४ सदनका कप्तानहरूलाई शपथ ग्रहण गराई खेलकुद दिवसको शुभारम्भ गरे । उद्घाटनका अवसरमा विभिन्न दूरीका दौड, रिले दौड, लङ जम्प, सर्टपुट लगायतका अन्तरसदन खेलहरू सम्पन्न भएका छन् । विद्यार्थीहरूले राष्ट्रिय गीतको धुनमा मार्च पास गर्नुका साथै नेपालको राष्ट्रिय झण्डाको दृश्य निर्माण हुने गरी सांस्कृतिक कवाज प्रदर्शन गरे, जुन उद्घाटन समारोहको मुख्य आकर्षण बनेको थियो । कार्यक्रममा थारु संस्कृतिमा प्रचलित झुमरा नृत्य, मगर संस्कृतिमा प्रचलित झोरा नृत्य तथा किराँत संस्कृतिमा प्रचलित साकेला नृत्यका अतिरिक्त अन्य विविध लोक सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिए । खेलका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यान दिई गण्डकी मेडिकल कलेजमा कार्यरत भूतपूर्व विद्यार्थी चिकित्सकहरूको समूहले विद्यालयमै आकस्मिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रदान गरेका थिए ।

एसओएस विद्यालय गण्डकीका प्रधानाध्यापक चूडामणि सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक प्रभास पौडेलले स्वागत मन्तव्य राखेका थिए । पौडेलले विद्यालयले पछिल्ला वर्षहरूमा हासिल गरेको शैक्षिक सर्वोत्कृष्टताका बारेमा प्रकाश पार्दै यस वर्षको खेलकुदमा जम्मा ६५ खेल समावेश गरिएको जानकारी दिए । ती खेलहरूमा ६ सय १३ जना विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता रहने उनले बताए । कार्यक्रमको समापन गर्दै प्राचार्य चूडामणि सुवेदीले खेलमा जितहारसँगै सिकाइलाई पनि समान महत्त्व दिन र अनुशासित भएर मर्यादित ढंगले विभिन्न खेलमा सहभागी हुन विद्यार्थीहरूलाई आग्रह गरे ।

Advertisement

समारोहमा एसओएस बालग्राम गण्डकीकी उपनिर्देशक भवानी बस्नेत, कालिका मावि रामबजारका प्रधानाध्यापक श्रीराम आचार्य, न्यु मोडल माध्यमिक विद्यालयका निर्देशक लक्ष्मण पोखरेल र एसओएस युवालय गण्डकीका प्रमुख रामचन्द्र पोखरेलको सहभागिता थियो । त्यसैगरी ताराकुन्ज एकेडेमीका प्रधानाध्यापक पुष्पराज पौडेल, एसओएस गण्डकीका सहायक प्राचार्यद्वय वीरसिंह बुढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकीका एकाइ अध्यक्ष मिलन खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्रराज बराल, बालग्रामकी आमा प्रतिनिधि रेखादेवी राणा र भूतपूर्व विद्यार्थी मञ्चकी उपाध्यक्ष सम्झना पराजुलीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा लेखापरीक्षकद्वय प्रदीप आचार्य र सुमन न्यौपाने तथा चिकित्सक धीरज अधिकारी लगायतको सहभागिता थियो ।

प्रतियोगिताको पहिलो दिन सम्पन्न ४ सय मिटर रिले दौडमा अन्नपूर्ण सदनका संजु चेपाङ, मार्था तामाङ, जेनिसा भण्डारी र देवी माझीले प्रथम स्थान हासिल गरे । धौलागिरि सदनका सलिना परियार, दिभिसा सापकोटा, आसिका सापकोटा र रोजमेरी खड्गीले द्वितीय स्थान प्राप्त गरे । विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि लोकनाथ आचार्य र प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र, पुरस्कार तथा पदक प्रदान गरे । तीन दिनसम्म चल्ने खेलकुद समारोहमा आधारभूत र माध्यमिक तहमा ५ समूहका लागि छुट्टाछुट्टै खेलहरू सञ्चालन हुने विद्यालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया