विशेष महाधिवेशनको माहोल

समाधान संवाददाता २०८२ पुष २५ गते ११:०५

पोखरा । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि आह्वान गरेको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्रको आन्तरिक विवाद जिल्ला तहसम्म पुगेको छ । पार्टीको केन्द्रीय कार्यालयले विशेष महाधिवेशन अवज्ञा गर्न निर्देशन दिएकै समयमा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले भने उक्त महाधिवेशनमा सक्रिय सहभागी हुन कार्यकर्तालाई अपिल गरेका छन् । उनीजस्तै थुप्रै जिल्ला सभापतिहरु विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

Advertisement


बरालले बिहीबार एक अपिल जारी गर्दै पार्टीलाई विधि र विधान अनुसार अगाडि बढाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् । केन्द्रीय कार्यालयले सो महाधिवेशनलाई वैधानिकता नदिने र त्यसको अवज्ञा गर्न मातहतका निकायलाई सर्कुलर जारी गरे पनि कास्की सभापति बरालले भने महामन्त्रीद्वयको कदमलाई समर्थन गरेका छन् । उनले पार्टीको १५ औँ महाधिवेशन समयमा हुन नसकेको र विधान संकटमा परेको भन्दै विशेष महाधिवेशनलाई सफल बनाउन सबै महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरे ।


केन्द्रीय कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गर्नुपर्ने भन्दै अहिले विशेष महाधिवेशन गर्न नसकिने अडान राखेको छ । सभापति शेरबहादुर देउवा पक्षले यो कार्यक्रमलाई पार्टी हित विपरीत भन्दै सहभागी नहुन निर्देशन दिएको छ । तर महामन्त्रीद्वय थापा र शर्मा पक्षले भने विधानको मर्म अनुसार तोकिएको समयमा नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन नै संकटमोचनको बाटो भएको दाबी गर्दै आएका छन् ।

Advertisement


विशेष महाधिवेशनका लागि काठमाडौँको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ । यसका लागि १८ वटा विभिन्न उपसमितिहरू समेत गठन गरी काम अगाडि बढाइएको सचिवालयले जनाएको छ । जसमा व्यवस्थापन देखि जेन्जी युवा परिचालन सम्मका समितिहरू सक्रिय रहेका छन् । कास्की सभापति बरालले जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई उत्साहपूर्वक काठमाडौँ आउन आह्वान गरेपछि कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण थप प्रस्ट देखिएको छ ।

विशेष महाधिवेशन रोक्न हरसम्भव प्रयत्न संस्थापन पक्षले गरेको छ

Advertisement


विशेष महाधिवेशन पक्षधरले स्थानीय प्रशासनलाई शान्ति सुरक्षाका लागि पत्राचार समेत गरिसकेका छन् । संस्थापन पक्षले महाधिवेशन रोक्न खोजे पनि आफूहरू विधान रक्षाका लागि उभिएको बरालको भनाइ छ । उनले विसं २०८२ पुस २८ भित्र १५ औँ महाधिवेशन हुनुपर्नेमा सो हुन नसक्दा विशेष महाधिवेशन नै निर्विकल्प विकल्प बनेको उल्लेख गरे ।


कास्कीबाहेक जिल्ला सभापतिले विशेष महाधिवेशनको समर्थन जनाएका छन् । ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठ, सिन्धुपाल्चोक सभापति जंगबहादुर लामा, उदयपुर सभापति हिमाल कार्की, काभ्रे सभापति तीर्थ लामा र धनकुटा सभापति दिनेश राईले पनि विशेष महाधिवेशनको पक्षमा विज्ञप्ति जारी गरेका छन् । काठमाडौंका सभापति कृष्ण बानियाँ पनि विशेषकै पक्षमा खुलेका छन् ।

कांग्रेसका ३० भन्दा बढी जिल्ला सभापतिहरू विशेष महाधिवेशनको पक्षमा रहेको नेताहरूले बताएका छन् । पर्वतका कांग्रेसी युवाहरूले विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् । कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, नवलपुरका सभापति महेन्द्रध्वज जिसी र पर्वतका सभापति युवराज जोशी विशेष महाधिवेशनको पक्षमा छन् ।


सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले भने विशेष महाधिवेशनको विरोध गरेको छ । उनीहरूले विशेष महाधिवेशनको औचित्य नभएको बताइरहेका छन् । विशेष महाधिवेशन रोक्न हरसम्भव प्रयत्न संस्थापन पक्षले गरेको छ । नेता शेखर कोइरालाले भने फरक मत राखेका छन् । उनले विशेष महाधिवेशनलाई ‘संकल्प महाधिवेशन’ मा रूपान्तरण गर्न सभापति देउवालाई आग्रह गरेका छन् ।


कांग्रेस कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेको छ । हस्ताक्षर फिर्ता लिन लगाउने निर्णयमा दुई महामन्त्रीको भने फरक मत छ । समितिको बैठक बिहीबार बसेको थियो । महामन्त्री गगन थापा र फरमुल्ला मन्सुरले उक्त निर्णयमा असहमति जनाएका थिए । उनीहरूले हस्ताक्षर फिर्ताको पक्षमा सहमति नदिएका हुन् ।


यसअघि मुख्यसचिव कृष्णप्रसाद पौडेलले विशेष महाधिवेशन आह्वान नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए । बैठकले सो विज्ञप्तिलाई पार्टीको आधिकारिक धारणा मान्दै अपनत्व लिने निर्णय पनि गरेको छ । बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने उपस्थित भएनन् । विशेष महाधिवेशनको पक्षमा रहेका उनी बैठकमा सहभागी नभएका हुन् ।

तपाईको प्रतिक्रिया