एसओएस गण्डकीको खेलकुद दिवस

समाधान संवाददाता २०८२ पुष २५ गते १२:०८

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४२ औँ खेलकुद दिवस बिहीबारदेखि सुरु भएको छ ।

Advertisement

तीन दिने खेलकुद समारोहको उद्घाटन शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले गरे । आचार्यले एसओएसले निश्चित मूल्य मान्यतासहित राष्ट्रको गुणस्तरीय शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।

उनले अनुशासित भएर खेलमा सहभागी भए विद्यार्थीको शारीरिक तन्दुरुस्तीका अतिरिक्त सिकाइ प्रक्रियामा समेत सहयोग पुग्ने धारणा राखे । ‘खेलमा भविष्य देख्ने विद्यार्थीहरू पछि यही आधारशिलामा टेकेर आफ्नो नाम राष्ट्रियदेखि अन्तर्राष्ट्रिय जगतसम्म चम्काउन सफल हुन्छन्,’ उनले भने ।

Advertisement


विद्यालयका खेलकुद शिक्षक दीपकबाबु नेपालीले ४ सदनका कप्तानहरूलाई शपथ ग्रहण गराई खेलकुद दिवसको शुभारम्भ गरे । विभिन्न दूरीका दौड, रिले दौड, लङ जम्प, सर्टपुट लगायतका अन्तरसदन खेलहरु भएका छन् ।

कार्यक्रममा थारु संस्कृतिमा प्रचलित झुमरा नृत्य, मगर संस्कृतिमा प्रचलित झोरा नृत्य तथा किराँत संस्कृतिमा प्रचलित साकेला नृत्यका अतिरिक्त अन्य विविध लोक सांस्कृतिक नृत्यहरु विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

Advertisement


एसओएस विद्यालय गण्डकीका प्रधानाध्यापक चूडामणि सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक प्रभास पौडेलले स्वागत मन्तव्य राखेका थिए । पौडेलले विद्यालयले पछिल्ला वर्षहरूमा हासिल गरेको शैक्षिक सर्वोत्कृष्टताका बारेमा प्रकाश पार्दै यस वर्षको खेलकुदमा जम्मा ६५ खेल समावेश गरिएको जानकारी दिए ।

खेलहरुमा ६ सय १३ जना विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता रहने उनले बताए । प्राचार्य सुवेदीले खेलमा जितहारसँगै सिकाइलाई पनि समान महत्त्व दिन र अनुशासित भएर मर्यादित ढंगले विभिन्न खेलमा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरे ।


कार्यक्रममा एसओएस बालग्राम गण्डकीकी उपनिर्देशक भवानी बस्नेत, कालिका मावि रामबजारका प्रधानाध्यापक श्रीराम आचार्य, न्यु मोडल माध्यमिक विद्यालयका निर्देशक लक्ष्मण पोखरेल र एसओएस युवालय गण्डकीका प्रमुख रामचन्द्र पोखरेलको सहभागिता थियो ।

ताराकुन्ज एकेडेमीका प्रधानाध्यापक पुष्पराज पौडेल, एसओएस गण्डकीका सहायक प्राचार्यद्वय वीरसिंह बुढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकीका एकाइ अध्यक्ष मिलन खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्रराज बराल, बालग्रामकी आमा प्रतिनिधि रेखादेवी राणा र भूतपूर्व विद्यार्थी मञ्चकी उपाध्यक्ष सम्झना पराजुलीको पनि उपस्थिति थियो । कार्यक्रममा लेखापरीक्षकद्वय प्रदीप आचार्य र सुमन न्यौपाने तथा चिकित्सक धीरज अधिकारी लगायतको सहभागिता थियो ।


प्रतियोगिताको पहिलो दिन सम्पन्न ४ सय मिटर रिले दौडमा अन्नपूर्ण सदनका संजु चेपाङ, मार्था तामाङ, जेनिसा भण्डारी र देवी माझीले प्रथम स्थान हासिल गरे । धौलागिरि सदनका सलिना परियार, दिभिसा सापकोटा, आसिका सापकोटा र रोजमेरी खड्गीले द्वितीय स्थान प्राप्त गरे ।

विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि लोकनाथ आचार्य र प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रुपमा प्रमाणपत्र, पुरस्कार तथा पदक प्रदान गरे । तीन दिनसम्म चल्ने खेलकुद समारोहमा आधारभूत र माध्यमिक तहमा ५ समूहका लागि छुट्टाछुट्टै खेलहरु सञ्चालन हुने विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया