सीताघाट व्यवस्थित गरिँदै

पोखरा । पोखरा महानगरपालिका १७ स्थित सेती नदी किनारमा रहेको सीताघाटलाई व्यवस्थित बनाउने अभियान सुरु भएको छ । जन्मदेखि मृत्युसम्मका संस्कारसँग जोडिएको यो धार्मिक स्थललाई स्थानीयको सक्रियतामा पूर्वाधारयुक्त बनाउन लागिएको हो । विभिन्न पर्वमा नदी स्नान गर्न जाने भक्तजन र दाहसंस्कारका लागि जाने मलामीहरूले भोग्दै आएको सास्ती हटाउन घाटसम्म पुग्ने मोटर बाटो निर्माण कार्यलाई अगाडि बढाइएको छ ।
सीताघाट बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकराज कोइरालाका अनुसार पोखरा महानगरपालिका १७ को १० लाख रुपैयाँ आर्थिक सहयोगमा कच्ची मोटर बाटोको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ ।
बाँकी भौतिक संरचना निर्माणका लागि अहिले स्थानीय स्तरमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । सो अभियान अन्तर्गत स्थानीय समाजसेवी सूर्यप्रसाद शर्मा भण्डारीले १ लाख ५ रुपैयाँ नगद सहयोग गरेका छन् । उनले समितिका अध्यक्ष कोइरालालाई रकम हस्तान्तरण गर्दै संकलित रकमको उचित सदुपयोग गर्न आग्रह गरे ।
यसैगरी सदा शिव सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर ५० हजार रुपैयाँ सहयोग गरेका छन् । घरदैलो कार्यक्रम मार्फत अहिलेसम्म करिब ५ लाख रुपैयाँ संकलन भइसकेको समितिका सचिव विक्रम बाबु भण्डारीले जानकारी दिए । बाटोको सुरक्षाका लागि एकतर्फी नाला र फलामे रेलिङ निर्माण गर्न अनिवार्य भएकाले थप रकम संकलनका लागि पहल भइरहेको छ ।
समितिका कोषाध्यक्ष लेखनाथ चालिसेले घाट संरक्षणका लागि मोटर बाटोको दुवैतर्फ ग्याबिन जाली भर्ने काम भइरहेको बताए । धार्मिक क्षेत्रको विकासमा स्थानीयले देखाएको उत्साहले ठुलो काम सम्पन्न गर्न आँट पुगेको उनको भनाइ छ । यो सडक निर्माण भएपछि पोखरा १७ र २१ का बासिन्दालाई धार्मिक कार्य तथा अन्त्येष्टिका लागि सुविधा पुग्नेछ ।
यस सडकले हरेक वर्ष माघमा लाग्ने माघे संक्रान्ति ढुङ्गेसाँघु मेला व्यवस्थापनमा समेत ठुलो सहयोग पुर्याउने विश्वास लिइएको छ । बाटो निर्माणसँगै सेती नदी किनारमा रहेको झण्डै ४० रोपनी सार्वजनिक जग्गालाई व्यवस्थित गरी प्राचीन ढुङ्गेसाँघु मेलालाई थप आकर्षक बनाउन सकिने समितिको योजना छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया