वार्षिकोत्सवको तयारीमा विन्ध्यवासिनी मावि

समाधान संवाददाता २०८२ पुष २५ गते १२:१५

पोखरा । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमहरु आयोजना गरी आफ्नो ७९ औँ वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही पुस २७ गते मूल समारोह आयोजना गर्नुअघि शनिबार रक्तदान कार्यक्रम गर्न लागेको छ । छैटौँ संस्करणको यो रक्तदान कार्यक्रम विद्यार्थीमा सचेतना जगाउन र पोखरामा रगतको अभाव न्यून गर्न आयोजना गरिएको संयोजक शिक्षक जयराम पुनले बताए ।

Advertisement


पुस २६ गते शनिबार बिहान विद्यालय परिसरमा हुने रक्तदान कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी पूर्वअध्यक्ष चन्द्रा थापा अधिकारीको प्रमुख आतिथ्यतामा हुनेछ । यसका लागि प्रादेशिक रक्त सञ्चार केन्द्रसँग समन्वय गरी तयारी तीव्र पारिएको पुनले जानकारी दिए ।

अघिल्लो वर्ष ३९ युनिट रगत संकलन गरेको विद्यालयले यस वर्ष नयाँ रक्तदाताहरूलाई बढी सहभागी गराउने लक्ष्य राखेको छ । यस कार्यमा विद्यालयको जुनियर रेडक्रस सर्कल र रेडक्रस सोसाइटी उपशाखा पोखरा १६ ले सहकार्य गरेका छन् ।

Advertisement


वार्षिकोत्सवकै अवसरमा विद्यालयले शुक्रबार शैक्षिक तथा खेलकुद तर्फका पुरस्कारहरू वितरण गर्ने जनाएको छ । सोही दिन माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३.६ जिपिए ल्याउने १९ जना विद्यार्थीलाई सम्मान गरिने प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए । वार्षिकोत्सवको अवसरमा चण्डिका भवनदेखि महेन्द्र गुफासम्म बृहत् सरसफाइ कार्यक्रम समेत राखिएको छ । विद्यालयमा तीन दिनदेखि ‘स्पोट्र्स मिट’ समेत जारी रहेको छ ।


पुस २७ गते हुने मुख्य समारोहको प्रमुख अतिथि पोखरा महानगरका प्रमुख धनराज आचार्य रहने छन् । सो समारोहमा उत्कृष्ट शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ ।

Advertisement

एसइईमा ४ जिपिए ल्याउने विद्यार्थी सहज घिमिरेलाई विशेष सम्मान गरिने र विभिन्न छात्रवृत्ति वितरण गरिने सूचना अधिकारी नवीन अधिकारीले जानकारी दिए । करिब १ हजार ५ सय विद्यार्थी अध्ययनरत यो विद्यालय यसअघि सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट पहिलो हुन सफल भएको थियो ।

तपाईको प्रतिक्रिया