माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक

समाधान संवाददाता २०८२ पुष २६ गते ७:००

काठमाडौं ।  आगामी माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढीको नगद कारोबार गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै नगद कारोबारको सीमा ५ लाख रुपैयाँ तोकेको हो ।

Advertisement

नयाँ व्यवस्थाअनुसार ५ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्दा अनिवार्य रूपमा ‘एकाउन्टपेयी’ चेक काट्नुपर्ने वा सम्बन्धित व्यक्तिको बैंक खातामै रकम जम्मा गर्नुपर्नेछ । साथै, कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानीसमेत एकाउन्टपेयी हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

सरकारले गत मंसिर १५ गते नै नगद कारोबारको सीमा ५ लाखमा झार्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम अर्थ मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेपछि राष्ट्र बैंकले कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

Advertisement

यद्यपि, केन्द्रीय बैंकले केही विशेष क्षेत्रमा भने यो सीमा लागू नहुने स्पष्ट पारेको छ । प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरू, जलविद्युत्, सडक, सञ्चार जस्ता क्षेत्रका कर्मचारी र श्रमिकको पारिश्रमिक तथा ज्याला भुक्तानी नगदमा गर्न सकिनेछ । यस्तै, आयोजनाका लागि आवश्यक सामानको आपूर्ति, सरकारी राजस्व, बिगो र धरौटी रकम जम्मा गर्न पनि बाधा पर्ने छैन ।

पेन्सन क्याम्पमार्फत पेन्सन वितरण, सरकारी राहत तथा अनुदान, विप्रेषण (रेमिट्यान्स) कम्पनी वा एजेन्टले भुक्तानी गर्ने रकम र बचत तथा ऋण सहकारी संस्थाले सदस्यसँग गर्ने दैनिक कारोबारमा पनि ५ लाखको सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया