पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार

समाधान संवाददाता २०८२ पुष २६ गते ७:२४

काठमाडौं ।  प्रजातान्त्रिक आन्दोलनका योद्धा, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको छ । ८४ वर्षीय दाहालको शुक्रबार साँझ उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।

Advertisement

केही समययता अस्वस्थ रहेका दाहालको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । अग्रज पत्रकार पुरुषोत्तम दाहालका अनुसार शनिबार (आज) बिहान ७ बजेदेखि ९ बजेसम्म उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि मैतिदेवीस्थित (धोबीखोला करिडोर नजिक) निजी निवासमा राखिएको छ । त्यसपछि बिहान ९:३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ ।

अग्रज पत्रकार पुरुषोत्तम दाहालले भने, ‘हामीले नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, बीपी विचारका सच्चा अभियन्ता र अग्रज व्यक्तित्वलाई गुमाएका छौं । शुक्रबार साँझ वीर अस्पताल पुर्‍याउँदै गर्दा उहाँको निधन भयो ।’

Advertisement

शोकको यस घडीमा दाहाल परिवारमा अर्को पीडा थपिएको छ । उनकी धर्मपत्नी सुधा दाहालको पनि अहिले वीर अस्पतालमै उपचार भइरहेको छ । दाहालका दुई छोरा डा. सुधांशु र हिमांशु छन् ।

को हुन् होमनाथ दाहाल ?
ओखलढुंगा जिल्लाबाट राजनीतिमा उदाएका दाहाल पञ्चायतकालमा लोकतन्त्रको पक्षमा निडर भएर कलम चलाउने साहसी पत्रकारका रूपमा चिनिन्थे । उनले सम्पादन गरेको ‘राष्ट्रपुकार’ साप्ताहिकले पञ्चायती व्यवस्थाविरुद्ध जनमत निर्माण गर्न र बीपी कोइरालाको विचार प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

Advertisement

दाहाल नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) का पूर्वसभापतिसमेत हुन् । पत्रकारितामार्फत लोकतन्त्रको लडाइँ लडेका उनी बहुदल पुनःस्थापनापछि सक्रिय राजनीतिमा लागेका थिए । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय दाहाल ओखलढुंगाबाट निर्वाचित भई सांसद बनेका थिए ।

उनी २०४८ सालको आम निर्वाचनपछि बनेको सरकारमा र त्यसपछिका विभिन्न कालखण्डमा कृषि, भूमिसुधार तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल भएका थिए । कांग्रेसभित्र बौद्धिक र निष्ठावान् नेताका रूपमा उनको छवि उच्च थियो ।

तपाईको प्रतिक्रिया