भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित

समाधान संवाददाता २०८२ पुष २६ गते १९:४८

पोखरा । भीरकोट पोखरा सामीप्य सदनले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका ४ जनालाई पुरस्कार प्रदान गरेको छ । पूर्व प्रशासक कृष्णप्रसाद शर्माले दिवंगत पत्नी मुना रेग्मीको स्मृतिमा ५० लाखको कोषमार्फत् सदनले शनिबार पोखरामा ४ जनालाई पुरस्कार प्रदान गरेको हो ।

Advertisement

‘मुनाकृष्ण अक्षयकोष सञ्चालन विनियमावली २०८१’ अनुसार गठित समितिले गरेको सिफारिसका आधारमा पुरस्कार तथा सम्मान गर्न लागिएको हो । शिक्षातर्फ आँधीखोला ५ का पीताम्बर शर्मा नेपाली र साहित्यतर्फ पुतलीबजार १० का अग्रज साहित्यकार विश्वप्रेम अधिकारी पुरस्कृत भएका छन् । समाजसेवातर्फ भीरकोट नगरपालिकाका पूर्व मेयर छायाराम खनालले सञ्चालन गरेको छोरेडाँडा कामधेनु गौशालालाई सम्मान गरिएको छ । यसैगरी कृषितर्फ भीरकोट २ मा लामो समयदेखि शान्ति फलफूल नर्सरी सञ्चालन गर्दै आएका अगुवा किसान कृष्णबहादुर अधिकारीलाई सम्मान गरिएको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उनीहरुलाई सम्मान अर्पण गरे । कार्यक्रममा मन्त्री थापाले साहित्य, कला, संस्कृति तथा सामाजिक सेवामार्फत समाज रूपान्तरणमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको सम्मानले सकारात्मक सोच र सिर्जनशीलतालाई थप प्रेरणा दिएको बताए ।

Advertisement

उक्त अवसरमा पूर्व न्यायाधीश नवदत्त ढुंगाना र गणितमा विद्यावारिधि गरेका बद्रीप्रसाद पंगेनीलाई सम्मान गरिएको गरिएको थियो । सामीप्य समाजका अध्यक्ष श्यामप्रसाद रेग्मीले समाजले सामाजिक कामका अतिरिक्त यसपालिबाट पुरस्कार प्रदान गर्न थालेको बताए ।

यसका लागि अक्षयकोषदाता कृष्णप्रसाद शर्मा र उनको परिवारप्रति आभार व्यक्त गरे । अहिले अक्षयकोष वापतको रकमको ब्याज कम भएकाले जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिए पनि आगामी दिनमा यसको राशि बढाउने प्रतिबद्धता उनले जनाए ।

Advertisement

कार्यक्रममा स्याङ्जाली सम्पर्क सदनका संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठले पूर्व प्रशासक शर्माकै इच्छा अनुसार सुरुमा २५ लाख भनिए पनि ४० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको जानकारी गराए । पछि कृष्णप्रसादकै पुत्र पूर्व सचिव मधु रेग्मी र छोरी दुर्गा रेग्मी आचार्यको सद्भावले अक्षयकोषको राशि ५० लाख पुर्‍याइएको अक्षयकोष सञ्चालक समितिका संयोजक समेत रहेका श्रेष्ठले जानकारी गराए ।

पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्राडा दिलबहालदुर छेत्री संयोजक रहेको समितिको सिफारिसका आधारमा सदनले उनीहरुलाई पुरस्कृत गरेको हो । समिति सदस्यमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकीका सचिव वासु रेग्मी र पोखरा विश्वविद्यालयका उपप्रशासक ध्रुव अर्याल सदस्य थिए ।

नेपाल सरकारको विशेष प्रहरी विभागका तत्कालीन कामु प्रमुख श्रीकृष्णप्रसाद शर्माले आफ्नी दिवंगत श्रीमती मुना रेग्मीको स्मृतिमा ५० लाखको कोष खडा गरेका हुन् । कोषको सञ्चालन तथा पुरस्कार प्रदान गर्न सदनले कार्यविधि बनाएको छ । पुरस्कार प्राप्त गर्न साहित्य, कला र संस्कृति, शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि पशुपन्छी, समाजसेवा लगायतका विधामा योगदान पुर्‍याएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यक्रममा भीरकोट सामीप्य समाजका उपाध्यक्ष विष्णुप्रसाद खनाल, महासचिव खेम काफ्ले, पुरस्कृत व्यक्तिहरु पीताम्बर शर्मा नेपाली, विश्वप्रेम अधिकारी र छायाराम खनालले बोलेका थिए । अध्यक्ष श्यामप्रसाद रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा अक्षयकोषदाता सीता शर्मा रेग्मी, स्याङ्जाली सम्पर्क सदनका पूर्व अध्यक्ष लीलाप्रसाद पंगेनी, सदनका कावा अध्यक्ष विष्णुप्रसाद पोखरेल लगायतले शुभाकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया