एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’, २९९ रुपैयाँमा अनलिमिटेड कल र ५ जिबी डेटा

समाधान संवाददाता २०८२ पुष २७ गते ५:०८

काठमाडौं ।  एनसेलले जेन–जी पुस्ता (सन् १९९७ पछि जन्मिएका) लाई लक्षित गर्दै ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ । विद्यार्थीलाई सुलभ शुल्कमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले शनिबारदेखि यो नवीन योजना सुरु गरिएको हो ।

Advertisement

करसहित २ सय ९९ रुपैयाँ पर्ने यो प्याकमा २८ दिनका लागि अनलिमिटेड एनसेल–टु–एनसेल कल र ५ जिबी डेटा प्राप्त हुनेछ । साथै, डिजिटल वालेट इसेवा र खल्ती तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ प्रयोग गर्दा डेटा शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

सिम प्रयोगकर्ताले सामाजिक सञ्जाल चलाउन विशेष सुविधा पाउनेछन् । जसअनुसार २४ घण्टाका लागि फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न १ जिबी डेटा मात्र १९ रुपैयाँमा खरिद गर्न सकिनेछ । त्यस्तै, एनसेलबाट अन्य नेटवर्कमा (अफ–नेट) कल गर्दा विशेष छुटसहित प्रतिमिनेट १ रुपैयाँ मात्र लाग्नेछ । प्याकमा उपलब्ध ५ जिबी डेटा सकिएपछि पनि प्रयोगकर्ताले प्रतिएमबि ५० पैसामा इन्टरनेट चलाउन सक्नेछन् ।

Advertisement

एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्तले युवालाई सधैं कनेक्टेड रहन सहयोग पुर्‍याउने उद्देश्यले यो सिम ल्याइएको बताए । उनले भने, ‘यसले युवाको डिजिटल जीवनशैलीलाई सहज बनाउने र शिक्षामा समेत सहयोग पुर्‍याउने विश्वास लिएका छौं ।’

यो सिम लिनका लागि ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमतिपत्रका साथै विद्यार्थी परिचयपत्र पेस गर्नुपर्नेछ । आफ्नो नागरिकता नभएको खण्डमा अभिभावकको परिचय खुल्ने परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर पनि सिम लिन सकिनेछ ।

Advertisement

हरेक २८ दिनपछि सेवा निरन्तर गर्न सोही शुल्कमा प्याक पुनः खरिद गर्नुपर्नेछ । ग्राहकले एनसेल एप वा एस्ट्रिक्स १२३ ह्यास डायल गरेर प्याक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया