कांग्रेसको विशेष महाधिवेशन आजबाट, गण्डकीद्वारा धर्म निरपेक्षता खारेजी र ‘कोर्स करेक्सन’ को प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको सन्दर्भ पारेर गण्डकी प्रदेश समितिले पार्टीले विगतमा लिएका राजनीतिक र धार्मिक एजेन्डा सच्याउनुपर्ने (कोर्स करेक्सन) प्रस्ताव अघि सारेको छ ।
विशेष महाधिवेशन अघि गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले अवधारणापत्र सार्वजनिक गर्दै सनातन धार्मिक स्वतन्त्रता र संवैधानिक प्रणालीमा फर्कनुपर्ने प्रस्ताव गरेका हुन् । अवधारणापत्रमा २०६१ सालको आन्दोलनपछि प्रजातन्त्रको ठाउँमा लोकतन्त्र र सनातन धर्मको ठाउँमा धर्म निरपेक्षता राखेर गल्ती गरिएको उल्लेख छ ।
सभापति शर्माले पेस गरेको प्रस्तावमा भनिएको छ, ‘परिणाम नहेर्दा शासन गर्ने अधिकार नभएका व्यक्तिहरूको समूह ‘लोक’ हो भन्ने भ्रममा पारी तन्त्र थपेर आन्दोलनको उपलब्धिलाई धोकामा बदलिएको छ । यसका लागि कांग्रेसले सार्वजनिक रूपमा जनतासँग क्षमा माग्नुपर्छ ।’
गण्डकी प्रदेशले विगतको महासमिति बैठकमा १२ सयभन्दा बढी सदस्यले धर्म निरपेक्षता हटाएर सनातन धार्मिक स्वतन्त्रतामा फर्कन गरेको प्रस्तावमाथि छलफलसमेत नगरिएको भन्दै नेतृत्वको आलोचना गरेको छ । गुमेका विरासतहरू राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र सनातन धार्मिक स्वतन्त्रता (हिन्दु धर्म) पुनः बहाली गर्न महाधिवेशनले निर्णय गर्नुपर्ने माग गण्डकीको छ ।
हालै मुलुकमा भएको ‘जेनजी’ आन्दोलनपछिको संकट समाधानका लागि कांग्रेसले आफ्ना पुराना आदर्शमा फर्कनुपर्नेमा जोड दिइएको छ । अवधारणामा आन्दोलनमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै घटनाको उचित छानबिन र पीडितलाई क्षतिपूर्तिको माग गरिएको छ ।
सभापति शर्माले देशलाई संकटबाट पार लगाउन कांग्रेस नेतृत्व अपरिहार्य रहेको भन्दै विदेशिएको जनशक्तिलाई फर्काउने वातावरण बनाउनुपर्ने, आध्यात्मिक मठमन्दिरको पुनर्निर्माण गरी ध्यान साधना केन्द्रमा बदल्नुपर्ने र जडीबुटीको संवर्धन गरी नेपाललाई ‘दाता मुलुक’ बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।
अवधारणापत्रमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं’, ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेसी चरित्र पुनः स्थापित गरौं’ लगायतका नारा तय गरिएको छ ।
महाधिवेशनलाई ऐतिहासिक बनाउन सभापति एवं वरिष्ठ नेता डा. शेखर कोइराला सहितका नेतालाई गण्डकीले अपिल गरेको छ । पार्टी विधानमा आमूल परिवर्तन गरी नेता मालिक र कार्यकर्ता दास हुने प्रवृत्तिको अन्त्य गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया