पृथ्वी जयन्तीमा गण्डकी प्रदेश प्रमुखको सन्देश : एकीकरणको इतिहास नबिर्सौं

समाधान संवाददाता २०८२ पुष २७ गते ११:४९

पोखरा ।  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पृथ्वीनारायण शाहको अगुवाइमा टुक्रिएका राज्यलाई एकीकरण गरेर आधुनिक नेपाल निर्माण भएको तथ्य बिर्सन नहुने बताएका छन् । ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

Advertisement

प्रदेश प्रमुख भट्टले राष्ट्र एकीकरणका नेतृत्वकर्ता शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘पृथ्वीनारायण शाहकै अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो ।’

विभिन्न कालखण्डमा वीर पुर्खाले पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिएकै कारण नेपालको अस्तित्व कायम रहेको उनको भनाइ छ । उनले पृथ्वीनारायणको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।

Advertisement

राष्ट्रिय एकता दिवसले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय भावनालाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास भट्टले व्यक्त गरे । साथै, यो दिवसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत उनले गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया