सूचना, प्रविधि र स्टार्टअप मेला हुने

समाधान संवाददाता २०८२ पुष २७ गते १२:४८

पोखरा । आउँदो माघ महिनाको अन्तिम साता पोखरामा युवाबाट उत्पादित सूचना–प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी हुने भएको छ । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा सो मेला आयोजना गर्न लागेको हो ।

Advertisement


मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका १५ वटा नवीन सोचमा आधारित उद्यम, वस्तु तथा सेवा वा प्रक्रियामा नवप्रवर्तनसँग सम्बन्धित व्यवसायको प्रदर्शनी गरिनेछ । सो प्रदर्शनी प्रतिस्पर्धात्मक हुने र पहिलो हुनेले ४०, दोस्रोले ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जाननकारी दिए ।


सो मेलामा सहभागिताका निम्ति परिषद्ले आउँदो साता सार्वजनिक सूचना जारी गर्ने छ । ‘सहभागी हुन चाहनेहरुले अनलाइन फाराम भर्नुपर्नेछ । तीमध्ये छानिएकालाई मेलामा सहभागी गराइने छ,’ परिषद्का प्रमुख गौतमले भने, ‘आवेदकको उमेर ४० वर्ष ननाघेको,उद्योग÷व्यवसाय संचालन गरेको १० वर्षभन्दा बढी नभएको तथा सरकारी कार्यालयमा दर्ता भएको एवं वार्षिक कारोबार १५ करोडभन्दा बढी नभएको हुनुपर्ने छ ।’

Advertisement


पोखराबाट सुरु गरिने यो प्रदर्शनी सातवटै प्रदेशमा आयोजना गरिने छ भने अन्तिममा काठमाडौंमा हुने बृहत प्रतिस्पर्धात्मक प्रदर्शनीमासमेत प्रदेशमा उत्कृट रहेकालाई सामेल गरिनेछ । प्रदर्शनीको तयारीको सन्दर्भमा युवा परिषद्ले पोखरामा अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरेको छ ।


कास्कीसहित स्याङ्जा, बागलुङ, तनहुँ, पर्वतका उद्योगी/व्यवसायीको सहभागिता रहेको सो अभिमुखीकरणमा उद्यमशीलता विकास विज्ञ इन्जिनियर रमेश सुवेदीले नवप्रवर्तनमार्फत् रोजगारी सिर्जना र युवा पलायन रोक्नका लागि मेला आयोजना गरिएको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले युवा पुस्ताको पलायन रोकियोेस्, देशमै रोजगारी सिर्जना होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताए ।

Advertisement


गएको भदौमा भएको जेन–जी आन्दोलनको क्रममा उद्योगी/व्यवसायीमाथि भएको आक्रमणका कारण निजी क्षेत्र हतोत्साही बनेको उल्लेख गर्दै उनले यस्ता प्रदर्शनीले युवा पुस्तालाई प्रोत्साहित गर्ने धारणा राखे । पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले उद्यमशीलता विकासका निम्ति पोखरा महानगरपालिकाले चालेका कदमहरुबारे जानकारी दिँदै युवा परिषद्ले आयोजना गर्ने कार्यक्रमले नयाँ सोचको विकास गराउने धारणा राखे ।


युवा परिषद्का उपसचिव तारापति खरेलले निजी क्षेत्र र खासगरी युवाहरुलाई सिर्जनात्मक व्यवसायमा सामेल गराउनका निम्ति मेला आयोजना गरिन लागेको बताए ।

तपाईको प्रतिक्रिया