खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा

पर्वत ।
पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीस्थित स्वास्थ्य चौकीमा शनिवार आयोजित एकदिने निशुल्क आँखा जाँच शिविरमा ३ सय १९ जनाले सेवा लिएका छन् । खौलालाँकुरी पोखरा सम्पर्क समाजले उक्त शिविरको आयोजना गरेको हो । समाज खौलालाँकुरी स्थायी घर भई हाल पोखरामा बस्दै आएकाहरूको संस्था हो ।
शिविरमा हिमालय आँखा अस्पताल पोखराले प्राविधिक सहयोग गरेको थियो । शिविरमा कुल ३१९ जनाको आँखा जाँच गरिनुका साथै ३३ हजार रुपैयाँ बराबरको औषधि र १ सय ६२ जनालाई निशुल्क चश्मा वितरण गरियो । आँखा जाँच गराएका मध्ये ७ जनामा तत्काल शल्यक्रिया गर्नुपर्ने मोतिबिन्दु देखिएको छ भने कम्तीमा १३ जनामा ६–८ महिना भित्र शल्यक्रिया गर्नुपर्ने खालको मोतिबिन्दु देखिएको छ । समयमै उपचार नपाउँदा १७ वर्षीया एक किशोरीले सेतो पुतलीको संक्रमणबाट हुने ‘शापु’ रोगका कारण दाहिने आँखाको दृष्टि गुमाउन पुगेको दुःखद तथ्य पनि शिविरका क्रममा फेला परेको छ । ४८ घण्टाभित्र उपचार नपाए दृष्टि नै गुम्ने यस रोगका बारेमा सचेतनाको कमी देखिएको प्राविधिक टोलीले जनाएको छ ।
शिविरको उद्घाटन कुश्मा नगरपालिका–१३ का वडाध्यक्ष तेजप्रसाद शर्माले गरेका थिए । सो अवसरमा बोल्दै उनले सम्पर्क समाजले गर्दै आएका सामाजिक कामहरूको प्रशंसा गरे । कुनै पनि संस्था स्थापना गर्नु मात्र नभई त्यसको उद्देश्य अनुसार निरन्तरता दिनु ठूलो कुरा रहेको उनको भनाइ थियो । ‘समाजले गत वर्ष विभिन्न विशेषज्ञसहितको स्वास्थ्य शिविर ल्याएको र अहिले आँखा शिविरमार्फत वडाबासीलाई सेवा दिएर ठूलो गुन लगाएको छ’, उनले भने, ‘समाजले यस्तो सामाजिक कामलाई निरन्तरता दिओस् ।’ आँखा उपचारको क्षेत्रमा यस क्षेत्रकै अब्बल मानिएको हिमालय आँखा अस्पताल गाउँमै आएर सेवा दिनु निकै राम्रो रहेको भन्दै उनले व्यक्तिको मूल्यांकन कामका आधारमा हुने उल्लेख गरे ।

हिमालय आँखा अस्पतालकी नेत्र अधिकृत शशी कमला लामिछानेले शिविरको प्राविधिक पक्षबारे जानकारी दिँदै आँखा शरीरको महत्वपूर्ण अंग रहेकाले हेलचेक्राइँ गर्न नहुने बताइन् । समाजका संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले संस्था स्थापनाको उद्देश्यबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा नेकपा एमाले वडा कमिटी अध्यक्ष तिलकबहादुर लामिछाने, नेपाली कांग्रेस वडा सभापति रामबहादुर नेपाली, नेकपा वडा कमिटी अध्यक्ष तेजबहादुर कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी वडा सभापति मनोज सुवेदीले सम्पर्क समाजले गर्दै आएका कामहरूको प्रशंसा गरे । साथै उनीहरूले समाजले गर्ने आगामी कार्यहरूमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता समेत जनाए ।

खौलालाँकुरी स्वास्थ्य चौकीकी इन्चार्ज कालिका देवी शर्माले समाजको कामको सराहना गरिन् । उक्त अवसरमा शिविरलाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने हरिबहादुर विश्वकर्मालाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व विश्वकर्माले समाजलाई सधैं आफ्नो तर्फबाट सक्दो सहयोग भइरहने बचनबद्धता व्यक्त गरे । समाजका अध्यक्ष लालप्रसाद शर्माको अध्यक्षतामा भएको आँखा शिविरको उद्घाटन कार्यक्रममा कार्यक्रम संयोजक एवं निवर्तमान अध्यक्ष पिताम्बर पौडेलले धन्यवाद ज्ञापन, समाजका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर खत्रीले स्वागत मन्तव्य र सञ्चालन सचिव गंगाकुमारी कार्कीले गरेकी थिइन् ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया