कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान

लन्डन । पूर्वगोर्खा सैनिक हरि बुढामगरले कृत्रिम खुट्टाको सहायताले सातै महादेशका अग्ला शिखर आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । दुवै खुट्टा गुमाएका बुढामगरले गत पुस २२ गते (जनवरी ६) अन्टार्टिकाको ‘माउन्ट भिन्सन’ को सफल आरोहण गरेसँगै यो दुर्लभ उपलब्धि हासिल गरेका हुन् ।
समुद्री सतहदेखि ४ हजार ८ सय ९२ मिटर अग्लो माउन्ट भिन्सनको शिखरमा माइनस २५ डिग्री चिसो र तीव्र हावाको सामना गर्दै उनले पाइला टेकेका हुन् । योसँगै रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिएका ४६ वर्षीय हरि विश्व समुदायका लागि साहसको पर्याय बनेका छन् ।
आरोहणपछि अनुभव सुनाउँदै हरिले भने, ‘यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो । तीव्र हावा र कठ्यांग्रिदो चिसोले औंला जमिरहेका थिए । भगवानमा विश्वास नगर्ने म पनि हामी सफल होऔं भनेर मनमनै प्रार्थना गरिरहेको हुन्थेँ ।’ उनले शरीरको कुनै अंगमा खोट हुँदैमा जीवन निरर्थक नहुने सन्देश दिन चाहेको बताए । ‘म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु,’ उनले भने ।
बुढामगरले यसअघि २०८० जेठ (१९ मे २०२३) मा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । उनले अफ्रिकाको किलिमन्जारो (२०२०), उत्तर अमेरिकाको डेनाली (२०२४), दक्षिण अमेरिकाको एकोनकागुआ (२०२५), न्यु गिनीको पुन्चाक जया र युरोपको मोन्ट ब्ल्यांक (२०१९) को सफल आरोहण गरिसकेका छन् । रुसको माउन्ट एल्ब्रस अहिले पहुँचयोग्य नभएका कारण उनले मोन्ट ब्ल्यांक आरोहण गरेका हुन्, जसलाई गिनिज वर्ल्ड रेकर्ड्सले मान्यता दिएको छ ।
हरिको आरोहण दलमा अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पा सहभागी थिए । टोलीले ६ जनवरी २०२६ को राति १० बजे माउन्ट भिन्सनको शिखरमा पाइला टेकेको हो ।
सन् २०१० मा अफगानिस्तानमा तालिवानसँगको युद्धका क्रममा ‘एम्बुस’ मा परी हरिले दुवै खुट्टा गुमाएका थिए । १५ वर्षसम्म ब्रिटिस गोर्खा सेनामा रहेर उनले ५ महादेशमा काम गरेका थिए । बेलायतको प्रतिष्ठित ‘एमबिइ’ अवार्ड र ‘प्राइड अफ ब्रिटेन’ अवार्ड जितेका हरि हाल परिवारसहित बेलायतको केन्टमा बस्दै आएका छन् ।
आफ्नो सफलताको खुसी साट्न उनी माघ १ गते काठमाडौं आउने कार्यक्रम छ । त्यसपछि बेलायत फर्केर प्रधानमन्त्रीलाई भेट्ने योजना रहेको उनले जानकारी दिए । रासस









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया