कांग्रेस विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने

समाधान संवाददाता २०८२ पुष २८ गते १२:३१

पोखरा । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमिति विघटन गर्ने भएको छ । महाधिवेशनको बन्दसत्रले पारित गरेको कार्यविधिमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि समाप्त भइसकेकाले त्यसलाई भंग गरी १५ औँ महाधिवेशन नहुँदासम्मका लागि नयाँ कार्यसमिति चयन गर्ने उल्लेख गरिएको छ । यो निर्णयसँगै कांग्रेसभित्रको आन्तरिक सत्ता समीकरणमा ठुलो फेरबदल हुने देखिएको छ ।

Advertisement

विसं २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका थिए । मंसिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले माघ मसान्तसम्मका लागि कार्यसमितिको म्याद थप गरे पनि विशेष महाधिवेशन पक्षधरले त्यसलाई स्वीकार नगरी नयाँ निर्वाचनको प्रक्रिया अघि बढाएका हुन् । विशेष महाधिवेशनले पुस २७ र २८ गते काठमाडौँमा बोलाइएको यो भेला पूर्ण रूपमा वैधानिक रहेको प्रस्ताव समेत पारित गरिसकेको छ ।

नयाँ कार्यसमिति चयनका लागि १ जना संयोजक र ५ जना सदस्य रहने गरी निर्वाचन समिति गठन गर्ने प्रस्ताव कार्यविधिमा गरिएको छ । उक्त समितिले १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी पाउनेछ । यसका साथै विगतमा भएका कतिपय निर्णयहरूको समेत पुनरावलोकन गरिने भएको छ । लक्ष्मी बैंक र एनसेल जस्ता विभिन्न व्यावसायिक तथा नीतिगत विषयमा कांग्रेसको केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिले गरेका पुराना निर्णयहरूको सुधार र आवश्यकता अनुसार खारेजी समेत गरिने कार्यविधिमा उल्लेख छ ।

Advertisement

हलले पारित गरेको कार्यविधि अनुसार अब नयाँ निर्वाचनको बाटो खुलेको छ । यस प्रक्रियाले पार्टीभित्रको आन्तरिक विवादलाई नयाँ मोड दिएको छ । संस्थापन पक्षले यस महाधिवेशनलाई अवज्ञा गर्न निर्देशन दिए पनि सहभागी महाधिवेशन प्रतिनिधिहरूले भने नयाँ कार्यसमिति चयन नै अबको निकास भएको दाबी गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया