सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित

काठमाडौं । प्रेस काउन्सिल नेपालले सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १ सय २१ घटना भएको तथ्यांक सार्वजनिक गरेको छ । काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गर्दै सन् २०२५ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा अभिलेख भएका घटनाको विवरण सार्वजनिक गरेको हो ।
काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा तयार पारिएको प्रतिवेदनअनुसार यो वर्ष सञ्चारकर्मीका लागि चुनौतीपूर्ण रह्यो । सार्वजनिक विवरणअनुसार वर्षभरि सबैभन्दा बढी धम्की तथा दुर्व्यवहारका ५० घटना अभिलेख भएका छन् । यस्तै, आक्रमण तथा कुटपिटका ३७, पेसागत असुरक्षाका १५, कब्जा तथा अवरोधका ९ र पक्राउ तथा पक्राउ प्रयासका ५ घटना घटेका छन् । शंकास्पद मृत्युका २, नीतिगत बन्देजका २ र लैंगिक हिंसाका १ घटना रहेको काउन्सिलले जनाएको छ ।
बागमतीमा सबैभन्दा धेरै घटना
प्रदेशगत रूपमा हेर्दा सञ्चारकर्मीका लागि बागमती प्रदेश सबैभन्दा असुरक्षित देखिएको छ । अनुगमन प्रतिवेदनअनुसार बागमतीमा सबैभन्दा बढी ६२ वटा घटना भएका छन् । दोस्रोमा मधेस प्रदेशमा २७ घटना दर्ता भएका छन् । सुदूरपश्चिममा ८, कोशीमा ७, लुम्बिनी र गण्डकीमा समान ६–६ तथा कर्णालीमा ५ घटना भएको पाइएको छ ।
२०० पत्रकार प्रभावित
लैंगिक आधारमा हेर्दा एक वर्षको अवधिमा २ सय जना पत्रकार तथा सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोध गरिएको छ । जसमा १ सय ९० पुरुष र १० महिला पत्रकार प्रभावित भएका छन् ।
प्रेस स्वतन्त्रता दुरुपयोगका १० घटना
काउन्सिलले प्रेस स्वतन्त्रता हननका साथै दुरुपयोगका घटनाको पनि अभिलेख राखेको छ । यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका १० वटा घटना भएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिए । दुरुपयोगका घटनामध्ये बागमतीमा ५, मधेसमा ४ र कर्णालीमा १ वटा रहेका छन् ।









‘नेतृत्व परिवर्तन १५औं महाधिवेशनबाट गरौं, अहिले चुनावमा जुटौं’ : कार्यवाहक सभापति खड्का
म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया