प्रमुख पर्यटकीय पदमार्ग गम्भीर जोखिममा

समाधान संवाददाता २०८२ पुष २८ गते १६:४२

पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का केन्द्रीय अध्यक्ष सागर पाण्डेले नेपालका प्रमुख पर्यटकीय पदमार्गहरू गम्भीर जोखिममा रहेको बताएका छन् । टान गण्डकीको ३२ औँ वार्षिक साधारण सभाको आइतबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष पाण्डेले समयमै पदमार्गहरूको अडिट, संरक्षण र अद्यावधिक गर्न नसकिए यसबाट हुने लाभबाट स्थानीय समुदाय, पर्यटन व्यवसायी र स्थानीय सरकार समेत वञ्चित हुने चेतावनी दिए । उनले नेपालका धेरै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा रहेका पदमार्गहरू विभिन्न कारणले मासिँदै जाँदा यसले समग्र ग्रामीण अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको बताए ।

Advertisement

पाण्डेले ५ वर्षअघि करिब ५ लाख विदेशी पर्यटक भित्रिएको र ३० वर्षपछि पनि पर्यटक संख्या १० देखि ११ लाखमै सीमित हुनु चिन्ताको विषय भएको उल्लेख गरे । वर्तमान अवस्थाबाट पर्यटन मार्फत पर्याप्त आर्थिक लाभ लिन सकिने कि नसकिने भन्ने विषयमा अब गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो । पर्यटनको दिगो विकासका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको चर्चा गर्दै पाण्डेले व्यवसायीहरू अहिले एक्लाएक्लै अघि बढ्दा अपेक्षित प्रगति हुन नसकेको गुनासो गरे । अब साझा उद्देश्यका साथ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले नेपाल पर्यटन बोर्डलाई पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याए ।

पर्यटन बोर्डमा मुख्य ३ वटा सुधार आवश्यक रहेको धारणा राख्दै पाण्डेले प्रत्येक प्रदेशमा बोर्डको कार्यालय स्थापना गरी स्थानीय स्रोत–साधनका आधारमा प्रवर्धनका काम केन्द्रित गर्नुपर्ने बताए । उनले केन्द्रीय तहमा नीति निर्माण तथा बहसलाई सुदृढ गर्नुपर्ने र विदेशी पर्यटक भित्र्याउन विभिन्न देशसँग समन्वयात्मक भूमिका बलियो बनाउनुपर्नेमा जोड दिए । पर्यटकीय पदमार्गहरूको नियमित अडिट र पुनर्ताजगी गर्न नसकिए ती पदमार्ग इतिहासमा मात्र सीमित हुने भन्दै उनले अहिलेको अवस्थामा धेरै पर्यटन व्यवसाय १० वर्षभन्दा बढी टिक्न नसक्ने जोखिम रहेको उल्लेख गरे । सन्तुलित विकास, वातावरणीय मूल्यांकन र पर्यावरण संरक्षणलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने उनको जोड थियो ।

Advertisement

तथ्यांक संकलनको अभावका कारण कुन क्षेत्रमा र कुन समयमा कुन देशका कति पर्यटक आउँछन् भन्ने स्पष्ट जानकारी नहुँदा नीति र योजना बनाउन समस्या भइरहेको पाण्डेले बताए । यसका लागि अब नेपाली पर्यटकहरूका लागि पनि न्यूनतम शुल्कसहित ’टिम्स’ कार्ड अनिवार्य गर्नुपर्ने धारणा उनले राखे । पर्यटन क्षेत्रको विकासका लागि सरकारी निकाय, निजी क्षेत्र, स्थानीय सरकार र पर्यटन बोर्डबीच सहकार्य अनिवार्य रहेको उनको भनाइ थियो । नेपाल पर्यटन बोर्डले अघिल्लो वर्षको तथ्यांकका आधारमा पर्यटक आगमन घटेको क्षेत्र विश्लेषण गरी रणनीतिक योजना र आकर्षक प्याकेज सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा टान गण्डकीले पोखराका ३ जना पत्रकार सुमन ढुंगाना, विमल तिवारी र सागर ढकाललाई जनही १० हजार रुपैयाँसहित सम्मान गरेको छ । टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, टानका पूर्वअध्यक्ष डम्बर बहादुर केसी, महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का अध्यक्ष ममता न्यौपाने लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा टान गण्डकीका प्रथम उपाध्यक्ष तीर्थराज सुवेदी र सचिव गोपाल कृष्ण संग्रौलाले समेत पर्यटन क्षेत्रका समसामयिक समस्याका बारेमा चर्चा गरे ।

Advertisement

तपाईको प्रतिक्रिया