पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप

समाधान संवाददाता २०८२ पुष २८ गते १६:५४

पोखरा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको नयाँ नेतृत्वमा प्रदीप खनाल चयन भएका छन् । तनहुँको दमौलीमा सम्पन्न महासंघको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । महासंघका केन्द्रीय सदस्य सूर्यमोहन आचार्यका अनुसार खनालसँगै वरिष्ठ उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा, उपाध्यक्षमा रामचन्द्र सापकोटा, सचिवमा सुरेन्द्र बास्तोला, कोषाध्यक्षमा भागवत अर्याल र सहसचिवमा रमेश पौडेल निर्वाचित भएका छन् ।

Advertisement

अधिवेशनले १५ जना सदस्यहरू समेत चयन गरेको छ । निर्वाचित सदस्यहरूमा नवराज पौडेल, शान्ति पाण्डे, सरस्वती आचार्य, सुष्मा श्रेष्ठ, रूपबहादुर केसी, मीनबहादुर थापा, किशोर सापकोटा, प्रतापसिंह अधिकारी, टीकाराम अधिकारी, गोविन्द अधिकारी, सुरेन्द्र पौडेल, रामप्रसाद भट्टराई, दामोदर मिश्र, रामप्रसाद भुसाल र रमेशप्रसाद भुर्तेल रहेका छन् । निर्वाचन समितिका संयोजक लिलाराज गौतमले निर्वाचित सबैलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

यसअघि अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुस्तक र स्टेसनरी व्यवसाय केवल व्यापार मात्र नभई ज्ञान, शिक्षा र सभ्यताको आधारस्तम्भ भएको बताए । उनले शिक्षाको पहुँच विस्तार र राष्ट्रको बौद्धिक विकासमा यस क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे । ‘प्रविधि, डिजिटल माध्यम र बजार प्रतिस्पर्धाका चुनौतीबीच पनि व्यवसायीहरूले देखाएको धैर्य र नवप्रवर्तनको म उच्च मूल्यांकन गर्दछु,’ आचार्यले भने, ‘म पनि यही व्यवसायबाट नेतृत्वमा आएकाले व्यवसायीका अप्ठ्याराहरूका बारेमा जानकार छु ।’ उनले बदलिँदो समय अनुसार व्यवसायीहरूले पनि आफूलाई परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए ।

Advertisement

मेयर आचार्यले व्यवसायीको हक–हित संरक्षण र नीतिगत सहजीकरणका लागि महासंघले गरेको प्रयास प्रशंसनीय रहेको चर्चा गरे । कार्यक्रम महासंघ गण्डकीका तत्कालीन अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष खनालले व्यावसायिक मर्यादा कायम राख्दै प्रदेशभरका पुस्तक तथा स्टेसनरी व्यवसायीहरूको समस्या समाधानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया