विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’

समाधान संवाददाता २०८२ पुष २८ गते १७:११


पोखरा । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमका साथ आफ्नो ७९ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको छ । समारोहको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यालयमा १ लाख ११ हजार १११ रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरेका छन् । आफ्ना बुबा र भाइ शिवराज आचार्यले अध्ययन गरेको यस विद्यालयको सम्मान र सम्झनामा उनले सो कोष स्थापना गरेको बताए । प्रमुख अतिथि आचार्यले सामुदायिक विद्यालयलाई अब्बल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विन्ध्यवासिनी मावि यसको सफल उदाहरण बनेको चर्चा गरे ।

Advertisement

समारोहमा विद्यालयको इतिहासमै महत्वपूर्ण मानिएको ‘अध्यक्ष अवार्ड’ प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई प्रदान गरियो । विद्यालय व्यवस्थापन समितिको समन्वयमा प्रदान गरिने यो अवार्ड महानगर प्रमुख आचार्य, राष्ट्रिय परीक्षा बोर्ड गण्डकीका प्रमुख भास्करराज पन्त, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र पुष्पन्द्र पाण्डे, शिक्षा अधिकृत जीवनप्रसाद रेग्मी लगायतले दोसल्ला र सम्मानपत्र सहित हस्तान्तरण गरे । व्यवस्थापन समिति अध्यक्ष सन्दीप थापाले सो सर्वोत्कृष्ट अवार्डको घोषणा गरेका थिए । सम्मानित भएपछि प्रधानाध्यापक आचार्यले यो सम्मान आफ्नो मात्र नभई विद्यालयको विकासमा अहोरात्र खट्ने सम्पूर्ण शिक्षक र कर्मचारीको भएको बताए ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले विद्यालयमा १ लाख ११ हजार १११ रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरेका छन्

Advertisement

विसं २०५२ मा शिक्षण पेसा सुरु गरेका आचार्य २०६० मा विन्ध्यवासिनी मावि प्रवेश गरेका थिए । उनी विगत एक दशकदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छन् । उनको कार्यकालमा यो विद्यालय विसं २०७९ मा नेपाल सरकारको गुणस्तर मापन केन्द्रको सर्वेक्षणमा देशभरकै सामुदायिक विद्यालयमध्ये प्रथम हुन सफल भएको थियो । त्यस्तै विसं २०८० मा गण्डकी प्रदेशमा प्रथम र पूर्वाधारका आधारमा देशभरमै दोस्रो भएको थियो । उनको नेतृत्वमा विद्यालयले राष्ट्रिय शिक्षा पुरस्कार २०८० र प्रदेश शिक्षा पुरस्कार २०८१ समेत प्राप्त गरिसकेको छ । पछिल्लो ३ वर्षमा देशभरका ८ सय ७५ विद्यालयका प्रधानाध्यापक र जनप्रतिनिधिले यस विद्यालयको असल अभ्यासको अवलोकन गरिसकेका छन् ।

वार्षिकोत्सवमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र दीर्घसेवा गर्ने शिक्षकहरूलाई पनि सम्मान गरियो । एसइई २०८१ मा ४ जिपिए ल्याउने विद्यार्थी सहज घिमिरेलाई ५० हजार रुपैयाँ र कक्षा ८ को परीक्षामा ४ जिपिए ल्याउने अनुज आचार्यलाई १० हजार रुपैयाँ नगद सहित सम्मान गरियो । २५ वर्षे दीर्घ सेवा पदकबाट कमलाकुमारी पौडेल, १५ वर्षे सेवाबाट सिर्जना शर्मा सिग्देल र १० वर्षे सेवाबाट यमकुमारी पौडेल, प्रतिभा राणा र संगीत गायक सम्मानित भए । त्यस्तै तहगत उत्कृष्ट शिक्षक अवार्डबाट मीना शाही, जमुना बस्नेत, लक्ष्मी गुरुङ, मानबहादुर केसी र कृष्णप्रसाद पौडेल सम्मानित भए भने कर्मचारीतर्फ सुकमाया सापकोटा र राजु सार्कीले सम्मान पाए ।

Advertisement

समारोहमा आधारभूत तह इन्चार्ज महेन्द्रप्रसाद पौडेल, उत्कृष्ट अभिभावक मनहरी आचार्य र सृष्टि सुवेदी सहित ४ जना, उत्कृष्ट मनिटर निरञ्जन देवकोटा र सह–मनिटर स्मृति विकलाई पनि सम्मान गरियो । उत्कृष्ट वर्ष विद्यार्थीको उपाधि पूर्णिमा भट्टराईले पाइन् । विज्ञान शिक्षक गोविन्द शर्मा पौडेललाई ‘दुर्गा केसी अक्षयकोष पुरस्कार’ र शिवप्रसाद सापकोटा तथा संगीता शर्मालाई ‘तोयनाथ श्याम तारा अक्षयकोष वर्ष शिक्षक पुरस्कार’ प्रदान गरियो । आफ्ना बालबालिकालाई आफैँ कार्यरत विद्यालयमा पढाउने कर्मचारीहरू अनिता बराल पौडेल, भीम गायक र धनमाया परियारलाई समेत सम्मान गरिएको थियो ।

पुस्तकालयमा किताब उपहार दिने अभियान सुरु गर्ने विद्यार्थी कृतिका अधिकारीलाई पनि विद्यालयले सम्मान गरेको छ । सो अभियानबाट हालसम्म ९५ थान पुस्तक संकलन भइसकेको छ । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका भास्करराज पन्त, सल्लाहकार बेनीबहादुर बस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, विद्यार्थी प्राप्ति आचार्य र अस्मिता क्षेत्री लगायतले मन्तव्य राखेका थिए । उद्घाटन अघि मेयर आचार्यले विद्यालयका संस्थापक पण्डित मुक्तिनाथ शर्माको शालिकमा माल्यार्पण गरेका थिए । विद्यार्थीले पञ्चेबाजा, मार्च पास र विज्ञान प्रदर्शनी सहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको सो समारोहको सञ्चालन शिक्षक महेन्द्रमणि पौडेलले गरेका थिए । वार्षिकोत्सवका अवसरमा विद्यालयले रक्तदान, सरसफाइ र खेलकुद कार्यक्रम समेत सञ्चालन गरेको थियो ।

तपाईको प्रतिक्रिया