वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार

समाधान संवाददाता २०८२ पुष २८ गते १८:१८

पोखरा । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन नेतृत्व चयनको दिशामा अगाडि बढेपछि सभापति शेरबहादुर देउवा सहितका नेताहरू दबाबमा परेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सुरु भएको महाधिवेशनको बन्दसत्रमा गठित ९ वटा समूहले १४ औँ महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमिति भंग गर्नुपर्ने सुझाव दिएका छन् । झन्डै दुई तिहाइ महाधिवेशन प्रतिनिधिहरू भृकुटीमण्डपमा भेला भएपछि सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कामाथि मध्यमार्गी बाटो खोज्न चर्को दबाब परेको हो ।

Advertisement

विशेष महाधिवेशनको बन्दसत्रमा समूहगत छलफल र प्रतिवेदन बुझाउने प्रक्रियामा समय लागेपछि कार्यक्रम मंगलबारसम्मका लागि लम्बिएको छ । प्रचारप्रसार उपसमितिका सदस्य माधव चौलागाईंका अनुसार ९ वटै समूहले कार्यसमिति भंग गरी आगामी महाधिवेशनसम्मका लागि तदर्थ समिति बनाउनुपर्ने राय दिएका छन् । महाधिवेशनस्थलमा महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदनमाथि गम्भीर छलफल भएको र समूहहरूबाट सुझाव संकलन गर्ने काम मंगलबार मात्रै टुंगिने चौलागाईंले जानकारी दिए । महाधिवेशन प्रतिनिधिहरूले वर्तमान कार्यसमितिको पदावधि सकिएको भन्दै यसलाई निरन्तरता दिन नहुने अडान राखेका छन् ।

पार्टीभित्रको यो संकट टार्न र सम्भावित फुट जोगाउन नेता डा शेखर कोइरालाले सक्रियता बढाएका छन् । उनले सोमबार सभापति देउवा र महामन्त्रीद्वयसँग छुट्टाछुट्टै संवाद गरी सहमतिको विकल्प सुझाइरहेका छन् । सुरुमा देउवा निवास महाराजगन्ज पुगेका कोइरालाले त्यसपछि महामन्त्रीहरूलाई भेटेर पार्टी जोगाउन आफू ‘विष पिउन’ समेत तयार रहेको बताएका छन् । देउवाले पनि आफूनिकट पदाधिकारी, केन्द्रीय सदस्य र कानुनविद्हरूसँग लामो परामर्श गरेपछि महामन्त्रीहरूसँग वार्ता गर्ने निर्णयमा पुगेका हुन् ।

Advertisement

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार सभापति देउवाले अहिलेको समस्यालाई निष्कर्षमा पुर्‍याउन महामन्त्रीद्वय थापा र शर्मासँग वार्ता गर्ने तयारी गरेका छन् । देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समेत साथमा राखेर सहमतिको बाटो खोज्ने भएका हुन् । देउवा पक्षका कतिपय नेताहरूले दुई तिहाइ बहुमत बिना कार्यसमिति भंग हुन नसक्ने भन्दै देउवालाई ढाडस दिए पनि भृकुटीमण्डपको जनलहरले संस्थापन पक्षलाई वार्ताको टेबलमा आउन बाध्य पारेको छ । मंगलबार हुने यो निर्णायक वार्ता र बन्दसत्रको निर्णयले कांग्रेसको आगामी भविष्य र संरचना तय गर्ने देखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया