
पर्वत । पर्वतको मोदी गाउँपालिका ६ थाना तिलाहारमा बसोबास गर्ने स्थानीयका लागि बिहानको झिसमिसेदेखि साँझको अँध्यारोसम्म एउटै चिन्ता हुन्थ्यो—एक गाग्री पानी कसरी जुटाउने ? खानेपानीको स्थायी स्रोत नहुँदा यहाँका बासिन्दाले पुस्तौँदेखि मोदी खोला र रती खोलाको तिरमा पुगेर पानी भर्नुपर्ने बाध्यता थियो ।
गाग्रीमा पानी बोकेर भीरालो बाटो उक्लिनु र ओर्लिनु यहाँका महिलाको दैनिक नियति नै बनेको थियो । मानिसलाई मात्र होइन, वस्तुभाउलाई तीर्खा मेटाउनसमेत खोलामै लैजानुपर्ने कष्टकर अवस्था अब भने इतिहास बनेको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको पहलमा सञ्चालित ‘मोदी खानेपानी तथा सरसफाइ परियोजना’ले थाना गाउँका ८२ घरधुरीमा ‘एक घर, एक धारा’ पुर्याएपछि तिलाहारमा खुसियाली छाएको छ । आइतबार आयोजित एक समारोहका बीच यस योजनाको उद्घाटन र समुदायलाई हस्तान्तरण गरिएको हो ।
कमलस्वाँराको मुलबाट ल्याइएको पानी अहिले गाउँका ७८ व्यक्तिगत र ४ सामुदायिक धारामार्फत वितरण सुरु गरिएको छ । यसबाट करिब ४ सय ५० जना जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
विगत सम्झना गर्दै मोदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रमुख सल्लाहकार नन्दलाल सुवेदी भन्छन्, ‘पहिले हामीले मोदी र रती खोलाको पानी नखाए तीर्खा मेटिने विकल्प थिएन । एक गाग्री पानीका लागि घण्टौँ समय खर्चिनुपथ्र्यो ।’ उनले घरमै धारा आएपछि विशेष गरी गृहिणीको कार्यबोझ घटेको र गाउँलेको जीवनस्तरमा सुधार आएको बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको पहलमा १ करोड ३६ लाख लागतमा १८ महिनामा मुलको पानी घर घरमा
परियोजनामार्फत गाउँका मन्दिर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा समेत धारा जडान गरिएको छ ।
यो बृहत् योजना सम्पन्न गर्न दातृ निकाय युनिका फाउन्डेसन नेदरल्यान्ड्सबाट ८३ लाख ३४ हजार ७ सय २० रुपैयाँ प्राप्त भएको थियो ।
त्यस्तै, मोदी गाउँपालिकाले २४ लाख ९६ हजार १ सय २९ रुपैयाँ र स्थानीय समुदायले २७ लाख ७८ हजार ७ सय ७३ रुपैयाँ बराबरको जनश्रमदान गरेका थिए । कुल १ करोड ३६ लाख १० हजार ६ सय २२ रुपैयाँको लागतमा १८ महिनाको अवधिमा यो आयोजना सम्पन्न भएको रेडक्रस कास्कीकी सभापति उर्मिला खड्का भण्डारीले जानकारी दिइन् ।
उनले खानेपानीको दिगोपनका लागि मर्मत सम्भार कोष खडा गरेर संरक्षणमा ध्यान दिन समुदायलाई आग्रहसमेत गरेकी छन् । गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले लामो समयदेखिको खानेपानी अभाव टरेपछि तिलाहारको जनजीवन सहज हुने र यसले कृषि उत्पादनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आर्थिक स्रोतको अभावमा लामो समयदेखि थन्किएको यो आयोजना रेडक्रस र स्थानीय सरकारको समन्वयले पूर्णता पाएको बताए ।
गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले ‘एक घर, एक धारा’ पुर्याउने पालिकाको नीतिलाई यस परियोजनाले सार्थकता दिएको उल्लेख गरिन् । परियोजनाको उद्घाटन समारोहमा जग्गादान गर्ने स्थानीयहरू छविलाल उपाध्याय, कुलबहादुर केसी, नारायणप्रसाद पौडेल, तिलकुमारी जिसी, यमबहादुर केसी र चन्द्रबहादुर सापकोटालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रममा मोदी इनर्जी लिमिटेडका आयोजना प्रमुख सुरेन्द्र बेलबासेले मर्मत, सम्भारका लागि ४ लाख रुपैयाँ र सन्तोष पौडेल स्मृति प्रतिष्ठानकी कोषाध्यक्ष पुष्पा पौडेलले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । रेडक्रस कास्कीले यस आयोजनाको व्यवस्थापन र प्राविधिक सहयोगमा नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो ।

श्याम कुँवर
कुँवर समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् ।









अब सजिलै मेटिन्छ तिलाहारबासीको तीर्खा
सम्पादकीय—पोखरामा लोरा मर्फीको सृजनात्मक यात्रा
मुस्ताङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया