मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक

समाधान संवाददाता २०८२ पुष २९ गते १२:१९

डुम्रे । गण्डकी प्रदेशको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तार हुँदै छ । मुग्लिन–पोखराको पूर्वी खण्ड अन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा समानान्तर सडक निर्माणका लागि रेखांकन स्वीकृत भएको हो ।

Advertisement


सरकारले मुग्लिन–पोखरा सडक अन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्डमा त्रिशूली नदीको पारिपट्टी समानान्तर नयाँ सडक खोल्ने स्वीकृति दिएको आयोजना निर्देशनालयका आयोजना निर्देशक चूडाराज ढकालले जानकारी दिए । ‘मुग्लिनबाट आँबुखैरेनीसम्म हालको राजमार्गको आधारमा समानान्तर सडक बन्ने भएको हो । मुग्लिन बजारको पारिपट्टी त्रिशूली किनारमा गोर्खातर्फ सडकको रेखांकन गरिएको सूचना राजपत्रमा प्रकाशित भइसकेको छ’, उनले भने ।


मुग्लिन बजारको पारिपट्टी गोर्खातर्फका त्रिशूली किनारबाट मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत् गृहको पारिपट्टीसम्म नयाँ सडकको रेखांकन गरी उक्त सडकको केन्द्ररेखाबाट दायाँबायाँ दुवैतिर १५–१५ मिटरका लागि सडकको सीमा तोक्ने निर्णय गरिएको छ’, निर्देशक ढकालले भने ।

Advertisement


मुग्लिन र मस्र्याङ्दी विद्युत् गृह कटेसँगै पुल निर्माण हुने उनको भनाइ छ । अहिले भइरहेको सडकलाई विस्तार गर्न प्राविधिक समस्या रहेकाले मस्र्याङ्दी र त्रिशूली नदीमाथि २ पुल निर्माण गर्न लागिएको हो । ‘मुग्लिन–आँबुखैरेनी सडकखण्ड अन्तर्गत ९ दशमलव ३ किलोमिटरमध्ये मस्र्याङ्दी नदी पारि ४ दशमलव ४ किमी नयाँ सडक निर्माण हुनेछ’, ढकालले भने, ‘सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन पूरा गरिसकिएको छ । यो आयोजनाको सुरुवात मुग्लिन स्थित नारायणगढ चोकमा पर्छ । यहाँबाट सुरु भई तनहुँको आँबुखैरेनीमा पुगेर सम्पन्न हुन्छ ।’

अहिलेको सडक विस्तार गर्न प्राविधिक समस्या भएकाले त्रिशूलीको पारिपट्टी समानान्तर सडक बनाइने

Advertisement


एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा गोर्खातर्फ करिब ५ किमी सडक निर्माण हुनेछ । मस्र्याङ्दी वारिपारि दुई–दुई लेनका सडक निर्माण हुनेछन् । ‘यो मुग्लिन–पोखरा सडक खण्डको एक खण्ड हो । आँबुखैरेनीबाट पोखरासम्म अहिले धमाधम सडक विस्तारको काम भइरहेको छ’, निर्देशक ढकालले भने ।


आयोजनाका अनुसार अहिले सञ्चालन भइरहेको मुग्लिन–आँबुखैरेनी सडकलाई स्तरोन्नति गरी एक लेन (एकतर्फी) बनाइनेछ । मस्र्याङ्दी पारि भने २ लेन एकतर्फी बाटो बनाइने आयोजना कार्यालयले जनाएको छ । त्रिशूली नदी र मस्र्याङ्दी नदी गरी २ स्थानमा बन्ने पुलले यो आयोजनालाई जोड्ने ढकालले जानकारी दिए ।


यो आयोजनाले गोर्खाको सहिद लखन गाउँपालिकालाई पनि छुनेछ । निर्देशक ढकालका अनुसार आयोजनाको कुल लागत ३ अर्ब ९७ करोड ४७ लाख २१ हजार रुपैयाँ छ । पृथ्वी राजमार्गमा रहेको मस्र्याङ्दी जलविद्युत् आयोजनाको कम्पोनेन्टका कारण साविकको सडक विस्तार गर्न सम्भव नभएपछि यो आयोजनाका लागि मस्र्याङ्दी पारी नयाँ लेन बनाउन लागिएको आयोजनाले जनाएको छ ।


साविकको सडकमा अस्तव्यस्त भिरालो जमिन हुनुका साथै गोर्खातर्फको भागमा सडक बनाउँदा जलविद्युत् आयोजनाका कुनै पनि भागमा क्षति नहुने भएकाले नयाँ सडक बनाउन लागिएको आयोजनाको भनाइ छ । यसले गोर्खातर्फको ग्रामीण बस्तीलाई सहरमा परिणत गर्ने र त्यसले यातायात सुविधा, स्थानीय बजार–पसल र लघु उद्यममा सहयोग पुग्ने आयोजनाको प्रतिवेदनमा उल्लेख छ ।


मुग्लिनमा त्रिशूली नदीमाथि १ लसय २० मिटर लामो पुल र मस्र्याङ्दी नदीमाथि १ सय २५ मिटर लामो पुलले साविकको मुग्लिङबाट आँबुखैरेनी सडकलाई जोड्नेछ । सरकारले विसं २०७५ मस्र्याङ्दी नदीको बायाँ किनारमा २ लेनको सडक निर्माणको रेखाङ्कन स्वीकृत गरेको थियो । रासस

तपाईको प्रतिक्रिया