गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ ।
गोरखनाथ तथा कालिका मन्दिरको प्रचारप्रसार गर्दै जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित आज बिहान बाजागाजासहित गोरखपुरका लागि ‘खिचडी यात्रा’ निस्किएको गौमाता सेवा महासङ्घका अध्यक्ष होमसिंह बस्यान्तले जानकारी दिए ।
उनका अनुसार गोरखामा धार्मिक तथा आन्तरिक पर्यटक वृद्धि गर्ने उद्देश्यले गएको तीन वर्षदेखि यहाँबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’ गरिँदै आएको छ । यहाँबाट निस्किएको खिचडी यात्रा आज भैरहवा पुग्ने र यही माघ १ गते गोरखपुर पुग्ने कार्यक्रम रहेको अध्यक्ष बस्न्यातले बताए ।
“माघी पर्वको अवसरमा प्राचीनकालदेखि नै गोरखनाथ मन्दिरबाट गोरखपुरस्थित गोरखनाथ मन्दिरमा खिचडी पठाउने चलन थियो, तर २० वर्षभन्दा बढी समयदेखि रोकिएको उक्त परम्परालाई पुनः निरन्तरता दिन थालिएको हो”, उनले भने । पुनः सुरु गरिएको खिचडी यात्राले हराउँदै गएको परम्परालाई जगेर्ना गर्न मद्दत पुगेको अध्यक्ष बस्न्यातको भनाइ छ । परम्पराअनुसार गोरखाबाट लगिएको खिचडी गोरखपुरस्थित उत्तर प्रदेशको गोरखनाथ मन्दिरमा लगेर चढाइने गरिन्छ । खिचडी चामल, मासको दाल, घ्यू, नुन, बेसारलगायत खाद्यवस्तु मिसाएर बनाइन्छ ।
गोरखनाथ मन्दिरबाट प्रसादका रूपमा लिएर गएको खिचडी उत्तर प्रदेशको गोरखनाथ मन्दिरमा माघी पर्वका दिन ब्रम्ह्मूहुर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको उनले बताए । ‘खिचडी यात्रा’मा करिब ५० जनाको टोली गोरखपुरतर्फ प्रस्थान गरेको हो । यात्राले दुई देशबीचको परम्परागत धार्मिक तथा सांस्कृतिक सम्बन्ध जोगाउन थप सहयोग पुग्ने गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बताए ।
खिचडी पुर्याउने परम्पराको पुनः थालनीसँगै उत्तर प्रदेश र गोरखाबीचको धार्मिक सम्बन्ध थप बलियो हुँदै जाने र यसले गोरखा जिल्लामा लाखौँ धार्मिक पर्यटकसमेत भित्र्याउन सकिने उनले विश्वास व्यक्त गरे ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया