
तनहुँ । भिमाद नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको विकास र विस्तार गर्दै किसानलाई व्यावसायिक बनाउने उद्देश्यले ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
स्थानीयको जीवनयापनसँग प्रत्यक्ष जोडिएको भरपर्दो आयआर्जनको स्रोत कृषि व्यवसाय भएकाले नगरपालिकाले यस क्षेत्रमा विशेष जोड दिएको नगरप्रमुख दधिराज सुवेदीले बताए । नगरपालिकाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै कृषि तथा पशुपालनमै आधारित कार्यक्रम ल्याइएको नगरप्रमुख सुवेदीले जानकारी दिए।
उनले भने, “कृषि तथा पशुपालनको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै किसानको जीविकोपार्जनमा सुधार ल्याउने तथा नगरपालिकालाई यस क्षेत्रमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।”
कार्यक्रमअन्तर्गत नगरप्रमुखसहित जनप्रतिनिधि र सम्बन्धित शाखाका प्रमुख प्रत्यक्ष रूपमा किसानसँग भेटघाट गरी उनीहरुको अवस्था, समस्या र आवश्यकताबारे जानकारी लिने तथा समाधानतर्फ पहल गरिनेछ । उक्त कार्यक्रम आगामी माघबाट नगरपालिकाका सबै वडामा सञ्चालन गरिने जनाइएको छ ।
नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा कृषि र पशु सेवा शाखाका प्रमुखबीच बसेको बैठकले माघको पहिलो हप्तादेखि नियमित रूपमा किसानको घरदैलोमा सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
कार्यक्रममार्फत किसानले जनप्रतिनिधि तथा कृषि–पशु सेवा शाखाका कर्मचारीसँग प्रत्यक्ष भेट गरी आफ्ना सुझाव र समस्या राख्न पाउनेछन् । सङ्कलित राय–सुझावलाई आगामी वर्षको नीति तथा बजेटमा समेट्ने प्रयास गरिने नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनका अनुसार कार्यक्रममा नगरपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाबारे जानकारी दिइनेछ भने उठेका जिज्ञासा र समस्यालाई यथाशक्य तत्काल समाधान गर्ने प्रयास गरिनेछ । कृषि विकास शाखा र पशु विकास शाखाबाट प्रदान गरिने सेवाको स्थलगत जानकारी तथा आवश्यक प्राविधिक सेवासमेत उपलब्ध गराइने उनले बताए ।
नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कृषि औजार, कृषि सामग्री, बीउबिजनमा ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी, पशुआहार व्यवस्थापनका लागि साइलेज व्यवस्था तथा दुग्ध उत्पादन गर्ने किसानलाई प्रोत्साहनस्वरुप प्रतिलिटर रु १० अनुदान प्रदान गर्दै आएको नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









भिमादमा ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन
गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु
स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया