वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने

समाधान संवाददाता २०८२ पुष २९ गते १५:४०

काठमाडौं ।  नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । संस्थापन पक्षसँग सहमतिका लागि वार्ता चलिरहँदा विशेष महाधिवेशन पक्षधरले पूर्वघोषित कार्यतालिकाअनुसार मंगलबार दिउँसोदेखि उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया अघि बढाएका हुन् ।

Advertisement

विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा निर्वाचन समितिले आज (मंगलबार) राति ९ बजेदेखि भोलि बिहान १ बजेसम्म मतदान गर्ने तालिका सार्वजनिक गरेको छ । अहिले बन्दसत्र र उम्मेदवारी मनोनयन फारम वितरणको काम सँगसँगै भइरहेको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । साँझ ४:३० बजे उम्मेदवारको प्रथम नामावली र राति ८:४५ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसलगत्तै राति ९ बजेबाट मतदान सुरु हुनेछ ।

Advertisement

४६३८ मतदाता कायम
महाधिवेशनका लागि ४ हजार ६ सय ३८ मतदाता कायम भएका छन् । १४औं महाधिवेशनका कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये मृत्यु भएका र पार्टी छाडेका १ सय ५ जनाको नाम हटाएर नयाँ सूची प्रकाशन गरिएको हो । विशेष महाधिवेशनमा कुल प्रतिनिधिको ६३ प्रतिशत सहभागी रहेको दाबी गरिएको छ ।

कुन पदमा कति शुल्क ?
निर्वाचन समितिले उम्मेदवारी दर्ता शुल्कसमेत निर्धारण गरेको छ । सभापति पदका लागि ३० हजार रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको संयोजक केसीले जानकारी दिए ।

Advertisement

महाधिवेशनले साविकको विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीसहित केन्द्रीय समिति चयन गर्नेछ । सहमहामन्त्रीमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएका समुदाय गरी ८ जना रहनेछन् । त्यस्तै, खुलातर्फ ३५ जना केन्द्रीय सदस्य चुनिनेछन् । कोषाध्यक्ष भने मनोनीत हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया