निर्वाचन आउन ५० दिन बाँकी : बन्दसूचीबाट १७५ उम्मेदवारले नाम फिर्ता लिए

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कुल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरणअनुसार १७ चुनाव चिह्नका (एकलसहित) उम्मेदवारले नाम फिर्ता लिएका हुन् ।
बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १०ः०० बजेदेखि ४ः०० बजेसम्मको समय निर्धारण गरिएको थियो । नाम फिर्ता लिने विषयमा आयोगले सूचना प्रकाशित गरी जानकारी गराएको थियो ।
आयोगले उम्मेदवार आफैं उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको थियो । तोकिएको समयसीमाभित्र एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । उनका अनुसार फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट बन्दसूचीमा नाम पेस गर्ने राजनीतिक दलका उम्मेदवारसमेत छन् ।
नाम फिर्ता लिनेमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ११० उम्मेदवार रहेका सहायक प्रवक्ता जिसीले बताए । उक्त पार्टी अन्य दलसँग एकता गरेकाले त्यसअघि पेस भएका सबै उम्मेदवारको नाम बन्दसूचीबाट फिर्ता लिएको उनको भनाइ छ ।
यसैगरी जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका ६ र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ५ जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका ४–४ जना तथा नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २–२ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका एक उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् ।
यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक–एक जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि यही पुस १३ र १४ गते दलहरूले आयोगमा नाम पेस गरेका थिए ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था गरिएको छ । त्यसका लागि आयोगले पछिल्लो जनगणनाका आधारमा जातीय प्रतिनिधित्वसमेत हुने गरी आवश्यक व्यवस्था गरेको छ ।









पोखराका ७ तले घरमा बाहिरैबाट आगो निभाउने प्रविधि भित्र्याइँदै, कास्कीमा २४ सै घण्टा ‘इओसी’ सञ्चालन
हाकिम र चौकीदार मिलेर बिजुलीको तार गायब, प्राधिकरण पोखराका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेल्भिन जोन्सको जन्मजयन्तीमा लायन्सद्वारा कोपिला नेपाललाई खाद्यान्न सहयोग
निर्वाचन आउन ५० दिन बाँकी : बन्दसूचीबाट १७५ उम्मेदवारले नाम फिर्ता लिए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया