पदमार्गको यात्रा जोखिममा ज्यान

राकेश शर्मा
म्याग्दी
बगरको तातोपानी कुण्डमा स्नान गरेर फर्कदै गरेका धवलागिरी गाउँपालिका ४ खिवाङका जितबहादुर पुनको नाउराको भिरबाट लडेर २०७५ चैत अन्तिम साता ज्यान गयो । धौलागिरि बेस क्याम्पमा पर्यटकको सामान पुर्याएर फर्किएका १ जना पूर्वी नेपालका भरिया माथिबाट खसेको ढुंगाले लागेपछि भिरबाट खसे । सँगै रहेका अन्य भरियाले भिरमा अड्किएको उनको शवसमेत निकाल्न सकेनन् । केही समय अघि दरवाङबाट सामान लिएर बगर जाँदै गरेको एउटा खच्चरले टेकेको ठाउँको पर्खाल भत्किएर खच्चर पनि भारीसँगै भीरबाट खस्यो । खच्चरले बोकेको सामान बेपत्ता भयो, खच्चर हेर्दा हेर्दै धेरै तलको म्याग्दी नदीमा पुग्यो ।
‘माथि हेर्दा टोपी खस्ने, कुनै कारणले चिप्लिए सिधै म्याग्दी नदीमा पुगिने’ नाउरा भीरले बर्सेनि ज्यान लिने गरेको बगरका नरप्रसाद पुनले बताए । स्थानीयका अनुसार नाउराको भीरमा लडेर हरेक वर्ष १÷२ जनाको ज्यान जाने गरेको छ । ‘सुरक्षित पदमार्ग नहुँदा ज्यान जोखिममा पारेर आवत जावत गर्नुपर्छ,’ उनले भने, ‘जोखिम सम्झँदा गाउँ बाहिर जान नपरे जस्तो लाग्छ तर विकल्प छैन ।’ नाउरा भिरको करिब ५ किलोमिटर बाटो साँघुरो छ । पहाड काटेर र पर्खाल लगाई बनाएको बाटो बढी भार पर्दा भत्कने गर्छ । भीरबाट ढुंगा खसिरहन्छ । अक्करे भीरमा कम्तीमा ३ घन्टा लगातार पैदल हिँड्नुपर्छ । मगर र दलित समुदायका ३४ घरको बसोबास रहेको बगरलाई धेरैले म्याग्दीको कर्णाली भन्छन् । भौगोलिक विकटता र आधारभूत सेवा सुविधाको अभावका कारण बगरबासीको जीवनयापन कष्टकर बनेको छ ।
द्वन्द्वकालमा तत्कालीन माओवादीले सुरु गरेको नाउराको भीरमा घोरेटो बाटो खन्ने कामको केही भाग शान्ति स्थापना भएपछि नेपाली सेनाले २०६५ सालमा पूरा गरेको थियो । त्यसअघि छोटो बाटो हिँड्न भीरमा रसीमा झुण्डिनुपर्ने थियो । अहिले बगर गाउँभन्दा माथि ३ दिन हिँडेर पुगिने इटाली आधार शिविरसम्म खच्चर पुग्ने बाटो बनेको छ । ‘ाविक मुदी गाविसको ९ नम्बर वडामा पर्ने सिम्कोस र बगर गाउँको प्रमुख समस्या नै सहज घोरेटोबोटो नहुनु हो ।’ तत्कालीन वडाध्यक्ष हरिप्रसाद तिलीजाको भनाइ छ । धौलागिरि चक्रीय पदमार्गको अन्तिम बस्ती बगर र बगरदेखि धौलागिरि आधार शिविर पुग्ने सुरक्षित पदमार्ग र खोलामा झोलुंगे पुल नहुँदा आरोहीहरु हेलिकोप्टर चार्टर गरेर जाने गरेका छन् ।
तातोपानी, रातो खोला, झुमरबोट खोला, ढाप्चा खोला, कैचीभीरखोला, तलीत्रे खोला, चतरे खोला, पहिते खोला, भुंगेनी खोला, थारओडार खोला लगायत ठाउँमा झोलुंगे पुल खााँचो छ ।
उक्त ठाउँमा काठ र दाउरा प्रयोग गरेर बनाइएको अस्थायी पुल (साँघु) तरेर ओहोर दोहोर गर्नुपर्ने बाध्यता छ । हिउँदमा बनाइने साँघु बर्खामा नदीमा आउने बाढीले बगाएर लैजान्छ । त्यहाँका बालबालिका घरै छाडेर मुदी र खिवाङको माविमा पढ्न जानुपर्छ । पारिवारिक समस्या र कमजोर आर्थिक हैसियत भएका विद्यार्थी पढ्नै छाड्छन् । वडा कार्यालय पुग्न पुरै दिन हिँड्नुपर्छ । नजिकमा पर्ने मुदी स्वास्थ्य चौकीमा पुग्न पुरै दिन लाग्ने भएकाले धवलागिरि गाउँपालिकाले गतवर्ष १ जना स्वास्थ्यकर्मी र औषधीको व्यवस्थासहित बगरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको थियो ।
विद्युत र सञ्चारको सुविधा छैन । बगरलाई सुरक्षित पदमार्गले जोड्ने, आधार शिविर जाने पदमार्ग सुधार र सञ्चार सेवा विस्तारका लागि काम सुरु गरिएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । मोबाइल सेवा विस्तारका लागि टेलिकमका प्राविधिकले हालै अध्ययन गरेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख रुपैयाँ सहयोगमा यस वर्ष नाउरा भीरदेखि सल्लाघारी खण्डमा साढे ९ सय किलोमिटर पदमार्ग फराकिलो बनाउने र ढुंगाको सिँढी निर्माण गरिएको छ ।
बगरको जेल्तुङदेखि सिंकुस, जुरकुस हुँदै मल्कबाङ जोड्ने डाँडाखर्कसम्मको पदमार्गसमेत मर्मत गरिएको छ । यो वर्ष संघीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन १५ लाख रुपैयाले इटालीक्याम्पदेखि स्वीस क्याम्पसम्मको पदमार्गसमेत निर्माण गरिएको छ । करिब साढे २ किलोमिटर पदमार्गलाई मर्मत र फराकिलो बनाइएको हो ।
बजेटको लागत अनुमान अनुसार १ हजार ७ सय मिटर पदमार्ग निर्माण गर्नुपर्ने भए पनि रकम बचत भएपछि करिब १ किलोमिटर पदमार्ग थप मर्मत गरिएको हो । यो वर्ष नै इटाली क्याम्पमा गण्डकी प्रदेश पर्यटन मन्त्रालयको ३२ लाख बजेटबाट सूचना केन्द्र र आकस्मिक स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु भएको छ । मन्त्रालयको अनुदान, स्थानीयवासीको जनश्रमदान र गाउँपालिकाको १० प्रतिशत लगानीमा सूचना केन्द्र र आकस्मिक स्वास्थ्य उपचार केन्द्रको भवन निर्माण सुरु भएको छ ।
धौलागिरि आधार शिविरसम्म जाने पदमार्ग पूर्वधारको अभाव छ ।राउन्ड धौलागिरि पदमार्ग हुँदै आवतजावत गर्ने पर्यटकहरु जोखिम मोलेर यात्रा गर्ने गरेका छन् । धौलागिरि पदमार्ग अन्तर्गत बगरामा पर्ने तातोपानी कुण्डमा स्नान गर्न पुग्ने स्थानीय तथा पर्यटक काठको साँघुको भरमा म्याग्दी खोला तर्ने गरेका छन् । हिउँदमा होस् वा बर्खामा पानीको उर्लदो बहाबसँगै जोखिम मोल्दै आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाले पदमार्ग अन्तर्गत विभिन्न ठाउँमा गरी १५ ठाउँमा पुन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
गाउँपालिकाले दिएको जानकारी अनुसार रातोखोला, तातोपानी कुण्ड जाने म्याग्दी खोला,झम्रुकोट खोला, धाप्चा खोला, कैचीवीरे खोला, तलित्रै खोला, हरथेवे खोला, ठाडोओडार खोला, चौरवन खोला, इटाली बेस क्याम्पको म्याग्दी खोला, स्वीस क्याम्प खोला र जापानीज बेसक्याम्प नजिक म्याग्दी खोलामा पुल आवश्यकता छ । १२ स्थानमा झोलंङगे र ३ स्थानमा साना कल्बर्ट आवश्यकता पहिचान गरिएको गाउँपालिका असिस्टेन्ट सब इन्जिनियर बालकृष्ण पौडेलले बताए । पुल निर्माण भए पदमार्गको यात्रा सहज हुनेछ ।









विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया