डिफेण्डिङ च्याम्पियन एपिएफलाई उपाधि

समाधान संवाददाता २०७६ भदौ २२ गते १३:१९

समाधान संवाददाता, पोखरा

लामा अमृत फाउन्डेसन घान्दु्रकले आयोजना गरेको दोस्रो क्लब स्तरीय भलिबल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन एपिएफ टिम ‘बी’ ले जितेको छ । पोखराको नदीपुरमा शनिबार सम्पन्न फाइनल खेलमा एपिएफ कै ‘ए’ टिमलाई १८–२५, २५–१२, २५–१९, १८–२५ र १६–१४ को सेटले पराजित गर्दै एपिएफ टिम ‘बी’ ले दोस्रोपटक उपाधि जितेको हो ।

उपाधिसँगै टिम ‘बी’ ले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ६० हजार रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता टिम ‘ए’ ले सिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार रुपैयाँ प्राप्त गर्‍यो ।

Advertisement

उक्त प्रतियोगिताबाट टिम ‘बी’ का सञ्जुविक्रम शाह सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट ब्लकरका रुपमा सोही टिमकै सन्तोष क्षेत्री, उत्कृष्ट सेटरका रुपमा सोही टिमकै मिलन राना र उत्कृष्ट स्पाइकरको रुपमा विष्णु क्षेत्री पुरस्कृत भए भने उत्कृष्ट डिफेन्डरका रुपमा टिम ‘ए’ का चन्द्र गुरुङ र उत्कृष्ट क्वीकरको रुपमा सोही टिमकै मिलन गुरुङ घोषित बने ।

त्यस्तै महिलातर्फ टिजी गर्ल तल्लो गगनगाैंडाले फाइनल खेलमा दोबा समाजलाई ३–१ को सेटले पराजित गर्दै विजयी बन्यो । टिजी गर्लले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद २० हजार रुपैयाँ हात पार्‍यो भने उपविजेता बनेको दोबा समाजले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद १४ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

Advertisement

प्रतियोगिताबाट टिजी गर्लका ममता पुन उत्कृष्ट खेलाडीको पुरस्कारबाट पुरस्कृत भए भने उत्कृष्ट सेटरको रुपमा दोबा समाजका नीरु पुन र सोही टिमकै सुस्मिता पुन उत्कृष्ट स्पाइकरको हकदार बने ।

प्रतियोगिताका खेल संयोजक अनिल गुरुङका अनुसार भेट्रान्सतर्फ लालीगुँरास पुन समाज लामाचौरलाई फाइनल खेलमा ३–० को सोझो सेटले स्तब्ध पार्दै अर्चलबोट भेट्रान्सले उपाधि जित्यो । अर्चलबोटले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद १५ हजार रुपैयाँको हकदार बन्यो भने उपविजेता टिम लामाचौरले सिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १० हजार रुपैयाँ प्राप्त गर्‍यो । उक्त प्रतियोगिताबाट लामाचौरका मनप्रसाद पुन उत्कृष्ट खेलाडीको हकदार बने ।

क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्सतर्फको बिजेता तथा उपबिजेता टिमलाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, मुख्य प्रायोजक सुवेदार नरबहादुर गुरुङ लयायतले पुरस्कार वितरण गरेका थिए ।

त्यस अवसरमा बोल्दै राखेप सदस्य गुरुङले विजेता टिमहरुलाई बधाई ज्ञापन गरे । अर्काे संस्करणको खेल रंगशालामा गर्न सुझाव दिँदै प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्ध रहेको जनाए । उनले एक्लो रुपमा खेलकुदको क्षेत्रमा विकास पुर्‍याउने गरी प्रतियोगिता सञ्चालन गरेको भन्दै आयोजकका संस्थापकलाई धन्यवादसमेत व्यक्त गरेका थिए ।

कार्यक्रममा पुन युनाइटेड नदीपुर तथा भुजुङ यजुम्रो डान्स गु्रपको तर्फबाट सांस्कृतिक नृत्यहरुसमेत प्रस्तुत गरेका थिए । फाउन्डेसनका संस्थापक अमृत लामा गुरुङको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण तथा समापनको कार्यक्रम सञ्चारकर्मी अर्जुन गाहा मगरले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया