पोखराको १२ नम्बर वडाले गरायो ज्येष्ठ नागरिकलाई सेतीबेणी तीर्थाटन

पोखरा । पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले बालाचतुर्दशीको अवसर पारेर वडाभित्रका ज्येष्ठ नागरिकलाई धार्मिक क्षेत्रको भ्रमण गराएको छ । वडाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
वडाले स्याङ्जा, पर्वत र गुल्मीको संगम सेतीवेणीमा वडाका ज्येष्ठ नागरिकलाई शतबीज छर्न लगेको हो । विशेषगरी वृद्धवृद्धाहरु धार्मिक स्थलको भ्रमण र धार्मिक कार्यहरु गर्न रुचाउने भएकाले पनि विशेष दिन पारेर निःशुल्क रुपमा वडाले सेतीवेणी लैजाने व्यवस्था मिलाएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । सेतीबेणीम एशियाकै ठूलो शालिग्राम शिला छ ।
हिन्दू धर्मालम्बीअनुसार यस दिन पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । सोही अनुरुप वडा कार्यालयले ज्येष्ठ नागरिकको लागि शतबीज छर्न सेतीवेणी लगेको हो, उनले भने ।
सेतीवेणीको शालिग्राम शिलालाई विष्णु भगवानको अवताररुपमा लिने गरेको पाइन्छ । शालिग्राम शिलामा गई पूजा गरेमा मनले आँटेका सबै इच्छा पूरा हुने धार्मिक विश्वास छ । त्यसकारण कात्तिकको एकादशी, मकर सङक्रान्ति, बालाचतुर्दशी, नववर्ष, ठूला एकादशीमा भक्तजनहरुको अत्याधिक चाप हुने गर्दछ । शालिग्रामको अवलोकनका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गर्दछन् ।
यसअघि, वडाले लमजुङको करापुटारमा रहेको प्रसिद्ध धार्मिकस्थल इशानेस्वर मन्दिरमा ज्येष्ठ नागरिकलाई शतबीज छर्न लगेको थियो । ज्येष्ठ नागरिकको घरघरमा पुगेर रगत परीक्षण, मृगौला, सुगर, हेमोग्लोबिन र पिसाब लगायतका परीक्षण गर्दै आएको थियो । त्यतिमात्र नभै वर्षमा कम्तिमा पनि दुईपटक निःशुल्क स्वास्थ्य परिक्षण गर्ने गरेको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।
ज्येष्ठ नागरिकको सम्मानस्वरुप वडाले बजेट नै छुट्याएर कार्ययोजना बनाइ वडासचिव शारदा सापकोटाको नेतृत्वमा सेतीवेणी पठाइएको हो ।
तपाईको प्रतिक्रिया