विद्यार्थी गाउँमै रोक्न बिहादीका शिक्षकको चासो

समाधान संवाददाता २०७६ भदौ २५ गते १३:२०

सुशील सुबेदी
वालिङ

विद्यालयमा उचित सुविधा व्यवस्थापन गर्न सके गाउँका विद्यार्थी नघट्ने निष्कर्ष बिहादी गाउँपालिकाका प्रअहरुले निकालेका छन् ।

पर्वतको बिहादी गाउँपालिकाले शैक्षिक सुधार गर्न पालिकाभित्रका सामुदायिक विद्यालयबीच अन्ततक्रियामा सुविधासहित आधुनिक शिक्षा प्रदान गर्दै बाहिर शिक्षा लिने विद्यार्थी रोक्न सहभागीले सुझाए ।

Advertisement

४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आयोजित शैक्षिक अन्तरक्रियात्मक गोष्ठीमा पालिकाभित्रका ३० सामुदायिक विद्यालयका प्रअ र क्याम्पस प्रमुखहरुबीच छलफल गरिएको हो ।

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले छात्रबास, स्कुल बस, अंग्रेजी माध्यममा पठन पाठन, प्रयोगात्मक शिक्षा लगायत विषयसमेत समावेश गर्न सहभागीले आग्रह गरे । बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले शैक्षिक सुधारका लागि शिक्षा ऐन लागु गर्दै विद्यालय मर्ज गर्ने, प्राविधिक शिक्षालय, ई लाईब्रेरी लगायत आधुनिक प्रविधि जडान गर्न पालिकाले योजना बनाएको बताए । ‘पहिलो चरणमा सुझाव संकलन गरेका छौँ । पालिकाले सबै विद्यालयलाई एकै ठाउँमा राखेर समस्या र सुझाव पहिचान गर्दै कार्यान्वयन गर्नेछ । ’ अध्यक्ष भुषालले भने, ‘आधुनिक शैक्षिक पद्धतिलाई अवलम्बन गर्न हामी तत्पर छौँ, आइसिटी बेस्ड शैक्षिक प्रणाली, भूगोल र यहाँका विद्यार्थीले खोजेको विषय अन्तर्गतको प्राविधिक शिक्षालयसमेत ल्याउन खोजेका छौँ । ’

Advertisement

नेपालको संविधानले शैक्षिक क्षेत्रको सुधार गर्न अधिकार स्थानीय सरकारलाई प्रदान गरेको बताउँदै बिहादी गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद आचार्यले सबै विद्यालयमा शैक्षिक सुधारको प्रयास थालनी गरिएको बताए । सामुदायिक विद्यालयमा प्राथमिक तहबाट नै विद्यार्थीको आकर्षण बढाउन टिफिन बक्स व्यवस्था गरिएको बताए । विद्यालयमा जंक फुट निषेध गर्दै घरबाट नै ताजा र आफूलाई मनपर्ने खाजा ल्याउन प्रेरित गर्ने उद्देश्यले दिवा खाजाको बजेटले टिफिन बक्स वितरण गरिएको आचार्यले बताए ।

गाउँपालिका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद आचार्यले गाउँपालिका क्षेत्रका विद्यालयमा विद्यार्थी आकर्षण बढाउन अंग्रेजी माध्यम र प्रयोगात्मक शिक्षालाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘हामीले विद्यार्थीको उपस्थिति बढाउन नौलो अभ्यास सुरुआत गरेका छाैं ।’

प्राथमिक तहबाट नै शैक्षिक गुणस्तर उकास्ने खालका पाठ्यक्रम निर्माण गर्न आवश्यक रहेको बताउँदै वाहाकी सामुदायिक क्याम्पसका प्रमुख एकनारायण भण्डारीले भने, ‘शिक्षा बिनाविकास सम्भव नभएकाले स्थानीय सरकारले पनि शैक्षिक क्षेत्रमा लगानी गर्ने विषयलाई छाती फराकिलो बनाउनुपर्दछ ।’ उक्त कार्यक्रममा जनप्रतिनिधि, शैक्षिक सरोकार राख्ने व्यक्ति व्यवस्थापन समिति, पत्रकार लगायत उपस्थित थिए ।

तपाईको प्रतिक्रिया