गण्डकीको सांसदमा कांग्रेसकी सुनिता थापाको नाम पार्टीबाट अनुमोदित

पोखरा । गण्डकी प्रदेश सभामा रिक्त सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय नेपाली कांग्रेसले गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको हो ।
प्रदेश सभा सदस्य विमला गौचनको डेंगुका कारण निधन भएपछि उक्त पद खाली थियो । समानुपातिक सूचीमा गौचनपछिको नम्बरमा रहेकी स्याङ्जाकी थापालाई सिफारिस गरेर निर्वाचन आयोगमा पठाउने निर्णय भएको हो ।
गण्डकी प्रदेश सभाले पद रिक्त भएको बारेमा निर्वाचन आयोगलाई लिखितरुपमा जानकारी गराइसकेको सचिव हरिराज पोखरेलले जानकारी दिए ।
नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा आदिवासी/जनजाति महिलामा म्याग्दीकी विमला गौचनको नाम १ नम्बरमा थियो । त्यसपछि क्रमश पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङको नाम थियो । ४ नम्बरसम्मका उम्मेदवार प्रदेश सभामा निर्वाचित हुँदा पाँचौं नम्बरमा रहेकी सुनीता भने छुटेकी थिइन् ।
सूचीमा परे पनि मतसंख्याका कारण निर्वाचित नभएपछि उनी आफ्नै कर्ममा तल्लीन थिइन् । नियतिको खेल नै भन्नुपर्छ आश मारिसकेको जिम्मेवारी उनले पाउने भएकी छन् ।
२०४९ सालमा स्याङ्जाको चापाकोटमा सामान्य परिवारमा जन्मेकी सुनीताले ६ कक्षामा पढ्ने बेलामा श्रवण शक्ति गुमाएकी थिइन् । स्नातकसम्म अध्ययन गरेकी सुनीता नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् । राष्ट्रिय अपांग महासंघ, गण्डकी बहिरा संघ लगायत धेरै संघ संस्थामा रहेर उनले काम गरिसकेकी छन् । अपांगता अधिकारकै लागि क्रियाशील रहँदा उनी देशविदेश घुमेकी छन् ।
सुनीताको प्रदेश सभा प्रवेशसँगै अपांगता भएका प्रतिनिधिको सहभागिता हुने भएको छ । अब प्रदेश सभामा सांकेतिक भाषाको दोभाषे व्यवस्था गर्नुपर्ने भएको छ । त्यसो त प्रदेश सभामा दोभाषेको प्रबन्ध गर्न प्रदेश सभा सदस्य सरस्वती गुरुङले विशेष र शून्य समयमा ३ पटकसम्म माग गरेकी थिइन् । यसका लागि पनि सुनीताको लबिङ थियो । प्रदेश सभा सदस्य गुरुङले भनिन्, ‘श्रवण समस्या भएकाहरुको कार्यक्रममा धेरैपटक गएँ, त्यहाँ उहाँहरुको गुनासो सदनमा दोभाषे नराखेकोमा हुन्थ्यो, त्यही भएर मैले आवाज उठाएको हुँ ।’
तपाईको प्रतिक्रिया