सम्बोधिकाका लेखक ईश्वरमणिद्वारा लेखक संघको पुरस्कार इन्कार

समाधान संवाददाता २०८१ मंसिर २४ गते १४:५३

पोखरा । नेपाली लेखक संघ कास्कीले बर्सेनि प्रदान गर्दै आएको लेखक कृति पुरस्कार-२०८० सम्बोधिका मुक्तक संग्रहका सर्जक ईश्वरमणि अधिकारले अस्वीकार गरेका छन् ।

Advertisement

साहित्यकार दीपक समीपको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले जन्मले वा कर्मले गण्डकी प्रदेशमा रहेका लेखकहरूमध्येबाट वि.सं. २०८० मा प्रकाशित कृतिहरूमध्येबाट उक्त कृतिलाई पुरस्कारका निम्ति छनोट गरेको थियो । पुरस्कारको नगद राशी २५ हजार रुपैयाँ र सम्मान पत्र छ । नेपाली लेखक संघ कास्कीको कार्यसमिति बैठकले पुरस्कार छनोट समितिद्वारा सर्वसम्मत रूपमा गरिएको निर्णयलाई अनुमोदन गर्दै उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको संस्थाका सचिव प्राञ्जलले जानकारी दिएका थिए ।

मंसिर १९ गते यो निर्णय सार्वजनिक गरिएको थियो । सर्जक अधिकारले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेर उक्त पुरस्कार लिन असमर्थ भएको जनाएका हुन् । उनले भनेका छन्, ‘उक्त महत्त्वपूर्ण निर्णय र सो प्रक्रियासँग सम्बध्द सम्पूर्ण आफन्तजनहरूलाई शालिनतापूर्वक उच्च सम्मान गर्दै मेरो मुक्तक सङ्ग्रह सम्बोधिकालाई लेखक कृति वर्ष पुरस्कार २०८०, प्रदान गर्ने निर्णयलाई कार्यान्वयन नगर्नु-नगराउनुहुन नेपाली लेखक संघ, कास्की शाखालाई विनम्रता पूर्वक अपिल गर्दछु । मेरो अन्तरआत्माको यो निर्णयबाट कोहीकसैलाई दुखी बनाएको भए दुखी छु ।’

सर्जक अधिकारीले जारी गरेको विज्ञप्ति

 

Advertisement

विसं २०८० मा प्रकाशित गण्डकी प्रदेशभित्रका साहित्यिक कृतिहरूमध्ये एक उत्कृष्ट कृतिका लागि लेखक संघ कास्कीकै स्थापना तथा सञ्चालनमा रहेको ‘लेखक कृति पुरस्कार-२०८०’ का लागि यस वर्ष कृति छनोट समितिले ‘सम्बोधिका’ मुक्तक सङ्ग्रहलाई छनोट गरेकोमा छनोट समितिका संयोजकसहित सम्पूर्ण सदस्यहरूलाई हार्दिक आभार तथा कृतज्ञता अर्पण गर्दछु । उक्त पुरस्कार छनौट समितिमा विगतका केही वर्षहरूमा आफू पनि संलग्न रहेकोले पनि मलाई यस्को प्रक्रिया, वैज्ञानिकता र पारदर्शितामाथि कुनै शङ्का छैन । हामी लेखक वा प्रकाशकसँग कुनै आवेदन माग्दैनौँ । संस्थाका सदस्यहरू तथा विभिन्न जिल्ला कमिटिहरू मार्फत जन्मले या कर्मले गण्डकी प्रदेशका स्रष्टाहरूका उक्त वर्ष प्रकाशित साहित्यिक कृतिहरू तथा सोको लिष्ट संकलन गरी उपयुक्त कृति छनौटका विभिन्न चरण पार गरी यौटा कृति सिफारिस गर्ने गर्छौं । यस पटक पनि त्यसैगरी उक्त पुरस्कारका लागि सम्बोधिका छनोट भएकोमा म विश्वस्त छु ।

यतिखेर विगत लामो समयदेखि सिर्जनकर्ममा लागेको एक अक्षरजीवी भएको नाताले यस निर्णयबाट थप उत्साहित र जिम्मेवार भएको छु । मेरा लागि यो निर्णय, हृदयत: उक्त लेखक कृति पुरस्कारभन्दा पनि धेरै माथि छ । यति हुँदाहुँदै पनि आफू उक्त पुरस्कारकै स्थापनाकालीन कार्यकर्ता तथा संस्थाको एक जिम्मेवार सदस्य र हाल त्यसैको गण्डकी प्रदेश कमिटिको समेत अध्यक्ष भएकाले पनि यसै वर्ष आफ्नै कृतिका लागि उक्त पुरस्कार ग्रहण गर्न मलाई मेरो अन्तरआत्माले इन्कार गरिरह्यो । तसर्थ, फेरि एकपटक उक्त महत्त्वपूर्ण निर्णय र सो प्रक्रियासँग सम्बध्द सम्पूर्ण आफन्तजनहरूलाई शालिनतापूर्वक उच्च सम्मान गर्दै मेरो मुक्तक सङ्ग्रह सम्बोधिकालाई लेखक कृति वर्ष पुरस्कार २०८०, प्रदान गर्ने निर्णयलाई कार्यान्वयन नगर्नु-नगराउनुहुन नेपाली लेखक संघ, कास्की शाखालाई विनम्रता पूर्वक अपिल गर्दछु । मेरो अन्तरआत्माको यो निर्णयबाट कोहीकसैलाई दुःखी बनाएको भए दुःखी छु ।

ईश्वरमणि अधिकारी, पिएचडी

अध्यक्ष, नेपाली लेखक संघ

गण्डकी

तपाईको प्रतिक्रिया