पोखरामा जारी कोटिहोममा ११ जनाको सामूहिक ब्रतबन्ध

समाधान संवाददाता २०८१ मंसिर २४ गते १९:४७

पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर १५ ढुंगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा शोमबार निशुल्क ब्रतबन्ध गरिएको छ । ११ जनाको ब्रतबन्ध सम्पन्न भएको यज्ञ आयोजक मूलसमितिका अध्यक्ष एवं अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए ।

Advertisement


कोटिहोममा मंगलबार चौरासी पूजा र तुलादानको कार्यक्रम तय भएको गिरीले बताए । कोटिहोम सञ्चालनको अवधिमा ब्रतबन्ध, चौरासी पूजा गर्न चाहे निशुल्क रुपमा पूजा गर्न सकिन्छ, कर्ताले स्वेच्छिक दान गर्न चाहेको अवस्थामा दान स्वीकार गरिने छ,’ गिरीले भने ।


कोटिहोमको सातौँ दिन ठूलो संख्यामा भक्तजनको उपस्थिति थियो । आयोजकको तर्फबाट भक्तजनका लागि निशुल्क भोजनको व्यवस्थापन गरिएको यज्ञ आयोजक मूलसमितिका संयोजक नारायण भण्डारीले जानकारी दिए ।
यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले पर्यटकीय धार्मिक क्षेत्र बनाउने उद्देश्यसहित कोटिहोम आयोजना गरिएकाले सबै पोखरेलीको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।


यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्देश्यका साथ कोटीहोम आयोजना गरिएको हो । अबको ५ वर्षमा धाम विश्वको आकर्षक गन्तव्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए ।


कोटिहोम जारी रहदा धाममा शिवालय मन्दिरको उद्याटन गरिएको छ भने शवदहनस्थल (सेती नदी) जाने बाटो (सिँढी)को शिलान्यस र शिव मन्दिर प्रवेश गर्ने मूलद्वारको शिलान्यस गरिएको छ । महतगौंडा र टुटुंगालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुंगेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटोको चन्दा दाताको हातबाट शिलान्यास गरिएको छ । सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका सचिव कमला बरालले जानकारी दिइन् । मंसिर २७ गतेसम्म कोटिहोम सञ्चालन हुने छ ।

Advertisement

तपाईको प्रतिक्रिया