रवि लामिछानेको मुद्दामा सकिएन अनुसन्धान, थपियो म्याद

समाधान संवाददाता २०८१ मंसिर २७ गते २०:३०
फाइल फोटो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले बिहीबार अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उस्तै कसुरमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई समेत म्याद थप गरेको हो ।

Advertisement

कात्तिक २ गते पक्राउ परेका रवि पुस २ गतेसम्म हिरासतमा रहने पक्का भएको छ । उनीहरुमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित थप अनुसन्धान गर्न थप पाँच दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

अदालतले म्याद थपबाहेक लामिछानेको स्वास्थ्य र मानवअधिकारबारे पनि अदालतले आदेश दिएको छ । लामिछानेको आवश्यक स्वास्थ्य उपचार गर्न र त्यसको प्रतिवेदन बुझाउन, उनको मानव अधिकार हनन हुने कुनै काम नगर्न/नगराउन अदालतले भनेको छ ।
लामिछानेविरुछ सातौँ पटक म्याद थपिएको हो । बिहीबार कास्की प्रहरीले थप ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतसामु अनुमति मागेको थियो । उनलाई प्रहरीले अब ९ दिनमात्र हिरासतमा राख्न सक्छ ।

Advertisement

बाँकी रहेका ९ दिन नै म्याद थप गर्न प्रहरीले सरकारी वकिलमार्फत जिल्ला न्यायाधीशसँग माग गरेको थियो । प्रहरीले राय बनाउने काम बाँकी रहेको र अनुसन्धान प्रतिवेदन बनाउन बाँकी रहेको भन्दै म्याद थप गर्न भनिएको थियो ।

लामिछानेलाई पक्राउ गरेपछि पोखराको सूर्यदर्शन, रूपन्देही, चितवन, काठमान्डौं र पर्सामा बयान लिइएको छ । नेपाल प्रहरीका अनुसार कास्कीमा लामिछानेको ‘लगभग अनुसन्धान सकिएको’ छ र त्यसबारे प्रतिवेदन तयार हुने क्रममा छ ।

Advertisement

कात्तिक २ गते पक्राउ परेका रविलाई ७ पटक म्याद थपिए पनि अझै अभियोजनसम्म अनुसन्धान पुगेको छैन

अन्य जिल्लाका हकमा कास्कीले अभियोजन प्रक्रियाअगाडि बढाएपछि मात्र काम हुने बताइन्छ । लामिछानेलाई संगठित अपराधका लागि समेत अनुसन्धान भइराखेकाले ९० दिनसम्म अनुसन्धानका लागि हिरासतमा राख्न पाइने कानुनी व्यवस्था छ ।

संगठित अपराधमा पक्राउ परेका छविलाल जोशीलाई पक्राउ गरेकै दिनदेखि अभियोगन गर्नुपर्ने दिन गनिन्छ । लामिछानेलगायतको समेत उही प्रकृति र उस्तै मुद्धा भएकाले अबको ८ दिनमा अभियोगपत्र बुझाउनैपर्ने बाध्यता छ ।

पोखराको नालामुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीको कार्यालयमा अहिले ताला लागेको छ । २०६३ मा खुलेको यो सहकारीका गतिविधि र छानबिन प्रतिवेदनहरुले स्थापनादेखि नै यसका सञ्चालकहरुले योजनावद्ध ढङ्गले ठगी गरेको पुष्टि गर्छन् ।

सूर्यदर्शनमा सर्वसाधारणको बचत र सेयर गरी एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार आठ सय ९९ रुपैयाँ ठगी भएको प्रहरी प्रतिवेदन छ । सूर्यदर्शनसहित देशैभर जिबी र उनको समूहले ५ सहकारी सञ्चालन गरी अर्बाैं हिनामिना गरेको देखिएको छ । ती सहकारीहरुबाट उनले चलाएका जिबी ग्रुप अफ कम्पनी, गोर्खा ग्रुप अफ कम्पनी लि, नेचर हब्र्स प्रालि, नेचर नेस्ट प्रालि, हर्बाे इन्टरनेसनल प्रालि, गोर्खा आयुर्वेद प्रािल, गुप्ती टि इस्नेट प्रालि, गोरखा मिडिया नेटवर्क प्रालि लगायतका संस्थामा गैरकानुनी रुपमा रकम पठाइएको पाइएको छ ।

लामिछाने प्रबन्ध निर्देशक रहँदा गोरखा मिडियामा देशका विभिन्न भागमा रहेका पाँच सहकारीबाट ६५ करोड ५४ लाख रकम गएको संसदीय छानबिन समितिले औंल्याएको छ । समितिले सहकारी ठगीमा संलग्न देखिएको भन्दै लामिछानेबारे लेखेको छ, “परिचालन र खर्च प्रक्रियामा सहभागिता देखिएको छ ।”

रविको हिरासत यात्रा
कात्तिक २ः रास्वपा केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ
कात्तिक ३ः बिहान ५ बजे कास्की हिरासत
कात्तिक ४ः जिल्ला अदालतबाट ६ दिन म्याद थप
कात्तिक ८ः ७ दिन म्याद थप
कात्तिक २०ः १० दिन म्याद थप
कात्तिक २५ः १३ दिन म्याद थप
कात्तिक २५ः अनुसन्धानका लागि पोखराबाट भैरहवा
मंसिर ९ः १५ दिन म्याद थप
मंसिर १३ः काठमाण्डौं पु¥याएर बयान
मंसिर १८ः काठमाण्डौंबाट चितवन लगेर बयान
मंसिर २०ः १९ गते राति हिडाएर बिहान पोखरा
मंसिर २३ः ४ दिन म्याद थप
मंसिर २४ः पर्सा लगियो
मंसिर २५ः पर्सामा बयान
मंसिर २६ः पर्साबाट काठमाडौं हुँदै पोखरा
मंसिर २७ः ७ औं पटक ५ दिन म्याद थप

तपाईको प्रतिक्रिया