पोखरा महोत्सवका लागि बैठक

समाधान संवाददाता २०८१ मंसिर ३० गते ११:०५

पोखरा ।
१३ औं संस्करणको पोखरा महोत्सवको तयारी स्वरुप महोत्सवका विभिन्न उपसमिति तथा सल्लाहकारको बैठक भएको छ । आगामी पुस २५ देखि माघ ७ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने महोत्सवको तयारीका लागि गठित विभिन्न उपसमिति र सल्लाहकारको बैठक आयोजना गरिएको हो ।

Advertisement


महोत्सवका सल्लाहकार तथा पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले पोखरा महोत्सव सफल बनाउनका लागि वडा नं १० ले वडाबाट योजनामा नै समेटेर सहयोग गर्ने प्रतिवद्धता जनाए । पोखरा महोत्सवलाई महानगरबाट उपलब्ध हुने सहयोगका लागि आफ्नो तर्फबाट समेत सक्दो पहलकदमी गर्ने जनाए ।


महोत्सवका सल्लाहकार दीपक थापाले पोखरा महोत्सव स्थल अमरसिंह चोक आसपास सडक निर्माणको काम भइरहेकाले महोत्सव आयोजना गर्दा त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।सल्लाहकार श्यामकृष्ण श्रेष्ठले महोत्सजमा हाँस्य व्यङ्ग्य कार्यक्रमलाई जोड्न सके दर्शक भित्रयाउन सहयोग पुग्ने बताए ।


सल्लाहकार प्रेमप्रसाद गौतमले पोखरा महोत्सवको आयोजना गरेर समाज सेवा गर्नु आफैमा महत्वपूर्ण भएको उल्लेख गरे । सल्लाहकार तथा समाज कल्याण समिति अध्यक्ष राजेन्द्रबहादुर कार्कीले र अनिल थापाले सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।


सल्लाहकार बलराम ढुंगानाले अहिले पृथ्वी राजमार्ग निर्माणको क्रममा रहेकाले विभिन्न समस्या उत्पन्न हुने भएकाले त्यस्ता समस्या समाधानका लागि समेत महोत्सव आयोजक तयारी अवस्थामा बस्नुपर्ने बताए । नागरिक अगुवा रामबहादुर पौडेलले महोत्सवको पूर्व सन्ध्यामा आयोजना हुने सरसफाइ कार्यक्रमलाई जागरणको रुपमा आयोजना गर्नुपर्नेमा जोड दिए ।

Advertisement


युनाइटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले सल्लाहकार तथा उपसमिति संयोजकहरुको सल्लाहलाई मनन गर्दै १३ औं संस्करणको पोखरा महोत्सवलाई भव्य र सभ्य बनाउन लाग्ने प्रतिवद्धता ब्यक्त गरे । महोत्सव मुल आयोज समिति संयोजक लोकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनार लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया