वातावरण संरक्षणमा न्यायपालिकाको भूमिका महत्वपूर्ण

गण्डकी । वातावरण तथा वनयजन्तु संरक्षणमा न्यायपालिकाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ । पोखरामा दुईदिनसम्म चलेको ‘वातावरणीय तथा वन्यजन्तु संरक्षणसम्बन्धी सवालहरूमा न्यायिक दृष्टिकोण’ विषयक कार्यशाला गोष्ठीमा वातावरणीय न्यायको क्षेत्रमा न्यायपालिकाबाट महत्वपूर्ण फैसला गरेको औँल्याइएको थियो ।
न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित उक्त गोष्ठीमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले वातावरणको मुद्दा न्यायको विषय भएको बताउनुभयो । विकसित देशहरूले गरिहेको कार्बन उत्सर्जनका कारण नेपालले वातावरणीय क्षति व्यहोर्नुपरेको जनाउँदै नेपालले जलवायु क्षतिपूर्ति पाउनुपर्ने उहाँको भनाइ थियो । गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले वातावरण क्षेत्रमा तल्लो तहबाटै न्याय निरुपणको आवश्यकता रहेको बताउनुभयो । उहाँले वन क्षेत्रको जिम्मेवारी प्रदेश तहलाई दिनुपर्ने बताउनुभयो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले वन्यजन्तु अपराध संसारको चौँथो ठूलो सङ्गठित अपराध भएको उल्लेख गर्नुभयो । वातावरणीय मुद्दाका विषयमा अन्तर्राष्ट्रिय अदालत हेगमासमेत हाले सम्मेलन भएको र नेपालले जलवायु न्यायको विषय उठाएको उहाँको भनाइ थियो । वातावरण तथा वन्यजन्तु अपराधसँग सम्बन्धित विषयहरूमा न्यायालयले गरेका फैसलालाई सरकारले कार्यान्वयन गरेको जनाउँदै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वातावरण संरक्षण सबैको दायित्व रहेको उल्लेख गर्नुभयो ।
कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री शाहीले वातावरणीय न्यायका विद्यमान चुनौती र समस्यालाई सूक्ष्म तबरबाट विश्लेषण गरी नीति निर्माणदेखि कार्यान्वयन तहसम्म लैजानुपर्ने बताउनुभयो । उहाँले संसार जलवायु परिवर्तन, जैविक विविधताको क्षय र प्रदूषणको सङ्कटबाट गुज्रिएको बताउँदै यी विषयमा राज्यका सबै निकायको समान बुझाइ आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले दुई विकसित र औद्योगिक राष्ट्रका बीचमा रहेकाले नेपाल वातारणीय सङ्कटको उच्च जोखिममा रहेको बताउनुभयो । उहाँले वातावरणीय अध्ययन प्रतिवेदनलाई अदालतले गम्भीर दस्तावेजका रूपमा लिने भएकाले उक्त प्रतिवेदनलाई सामान्यरूपमा नलिन आग्रह गर्नुभयो ।
न्यायाधीश मल्लले संरक्षण र उपभोग गर्दा वातावरणलाई धेरै क्षति गर्न नहुने बताउनुभयो । गोष्ठीमा पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझीले सिद्धान्तमा आधारित न्याय सम्पादन गर्नुपर्ने बताउनुभयो । आइतबार वातावरणीय न्यायका सवालमा तीनवटा सत्रमा छलफल भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा नरेश सुवेदीले जानकारी दिनुभयो ।
विषय विज्ञहरूले सो सम्बन्धमा बनेका राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुन, तिनको कार्यान्वयन अवस्था, चुनौती र समाधानबारे आफ्नो प्रस्तुतीकरण राखेका थिए । कोषले न्यायाधीश समाजसँगको सहकार्यमा विभिन्न तहका अदालतका गरी सय भन्दा बढी न्यायाधीशहरूलाई यस विषयमा जानकारी दिइसकेको कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख डा रवीन कडरियाले जानकारी दिनुभयो । कार्यशाला गोष्ठीको शनिबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गर्नुभएको थियो । रासस







१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया