पोखरेली पत्रकार बार्सिलोनामा सम्मानित

पोखरा । स्पेनको बार्सिलोनामा विभिन्न देशका ३३ जना पत्रकार र सञ्चारकर्मी सम्मानित भएका छन् । क्याटालोनिया सरकारको नेतृत्व गरिरहेको सत्तारुढ दल सोसियलिस्ट पार्टी अफ क्याटालोनियाको नागरिकता र विविधता विभागले बिहीबार साँझ पत्रकार, सञ्चारकर्मी, टेलिभिजनकर्मी र फोटो पत्रकारहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा पोखरेली पत्रकार वसन्त रानाभाटलाई विशेष सम्मान प्रदान गरिएको थियो । झन्डै डेढ दशकदेखि स्पेनमा बसोबास गर्दै आएका रानाभाटको पत्रकारिता क्षेत्रमा दुई दशक लामो अनुभव छ । उनी हाल अनलाइनखबर डटकमको युरोप क्षेत्रमा समाचार संयोजक छन् ।
पोखरा महानगरपालिका –२१ कृस्ति मूल घर भएका रानाभाटलाई स्पेन सरकारका क्याटालोनिया प्रतिनिधि कार्लोस प्रिइटो गोमेजले सम्मानपत्र हस्तान्तरण गरेका थिए । सम्मान समारोहमा बोल्दै कार्लोस प्रिइटो गोमेजले स्पेनको बहुसांस्कृतिक समाजलाई मजबुत बनाउन सञ्चारकर्मीहरूले पु¥याएको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा क्याटालोनिया प्रदेशका सांसद एरनेस्तो कारिवनले संयोजनको भूमिका निर्वाह गरेका थिए । उनले बहुसांस्कृतिक समाज निर्माणमा सञ्चारकर्मीहरूको योगदान महत्त्वपूर्ण रहेको बताउँदै भने, “यो सम्मानले क्याटालोनियाको सामाजिक विविधता र सह–अस्तित्वको मूल्यलाई झल्काउँछ । यहाँ बसोबास गर्ने विभिन्न समुदायका सञ्चारकर्मीहरूले समावेशी समाज निर्माणमा पुर्याएको योगदान अमूल्य छ ।’
२० भन्दा बढी देशका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा एनआरएनए स्पेनका पूर्व अध्यक्ष शालिकराम डुम्रे, पूर्व आइसीसी सदस्य दिनेश गिरी, एनआरएनए स्पेनका महासचिव सुन्दर रानाभाट लगायत नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया