नेपाललाई आइटी हब बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौै । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई ‘आइटी हब’ बनाउन तीव्रताका साथ काम गरिरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘आइसिटी अवार्ड–२०२४’ वितरण तथा सम्मान कार्यक्रममा सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा योगदान पुऱ्याउने विभिन्न व्यक्ति र संस्थालाई अवार्ड प्रदान गर्दै उनले सञ्चार मन्त्रालयले प्रत्येक वडा र टोलमा इन्टरनेट पुऱ्याउने कामलाई तीव्रता दिइरहेको बताए।
“देशको सबै क्षेत्रमा विकास गर्न सबैभन्दा पहिला सूचना, सञ्चार र प्रविधिको क्षेत्रमा विकास जरुरी हुन्छ, त्यसैले जतिसक्दो चाँडो आइसिटी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध छ”, उनले भने। नेपाललाई आइटी हबको रुपमा विकास गर्न भएका ऐन/कानुनको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यक ऐन/कानुन निर्माणको तयारीमा सञ्चार मन्त्रालय रहेको उनले जानकारी दिए।
उनले पछिल्लो समयमा सामाजिक सञ्जाल (फेसबुक, युट्युब, एक्स (ट्वीटर, टिकटक) को सदुपयोगभन्दा दुरुपयोग भएकाले त्यसलाई नियमन गर्न सरकारले ऐन ल्याउने तयारीमा रहेको बताए। कार्यक्रममा एलआरहाई स्कूल (काठमाडौँ), सकुना सेकेन्डरी स्कूल (मोरङ), आइएमई बैँक, फुडमाण्डुका सञ्चालक मनोहर अधिकारी र डा विशेष खनाललगायत आइटी क्षेत्रमा योगदान पुऱ्याउने १४ वटा सङ्घ/संस्था र व्यक्तिलाई ‘आइसिटी अवार्ड–२०२४’ प्रदान गरिएको थियो। रासस
तपाईको प्रतिक्रिया