गल्याङका जनप्रतिनिधिका लागि जलवायु परिवर्तन अनुकूलन तालिम

स्याङ्जा । गल्याङ नगरपालिकाका जनप्रतिनिधिधका लागि जलवायु परिवर्तन अनुकूलन सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ। द एशिया फाउन्डेसनको सहयोगमा आयोजित यस तालिममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र गैरसरकारी संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
३ दिने तालिमको समापनमा बोल्दै गल्याङ नगरपालिकाकी उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाले जलवायु परिवर्तनका कारण जोखिममा परेका समुदायलाई अनुकूलनका लागि आवश्यक योजना बनाउन यस तालिमले सहयोग पुग्ने बताइन्। उनले गल्याङ नगरपालिकालाई जलवायु अनुकूलनमैत्री नगरपालिका बनाउनका लागि कार्यपालिकामा छलफल गरी नीतिगत निर्णय लिइने बताइन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदार शर्माले जलवायु परिवर्तन अनुकूलनका लागि नीतिगत व्यवस्था गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए। उनले यसअघि पनि बजेट छुट्याएर यस क्षेत्रमा काम भइरहेको बताए।
कार्यक्रममा सहभागी गल्याङ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष ढाकाराम न्यौपानेले जलवायु परिवर्तनका मुद्दामा सूसुचित भएको र यस विषयमा आफ्नो वडामा जनचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरे। अन्य सहभागीहरूले पनि तालिमबाट प्राप्त ज्ञानलाई आफ्नो समुदायमा प्रयोग गर्ने बताए।
द एशिया फाउन्डेसनका प्रदेश संयोजक पूर्ण परियारले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले सचेत हुनुपर्नेमा जोड दिए। उनले फाउन्डेसनले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।
तालिममा जलवायु परिवर्तनका कारण प्रभावित क्षेत्र र वर्गले भोग्नुपर्ने समस्या, अनुकूलन र न्यूनीकरण व्यवस्थापन साथै सोका लागि चाल्नुपर्ने रणनीतिक कदम र नीतिगत तयारी आदिबारे प्रशिक्षकहरू श्रीकृष्ण चौधरी, रुकुमदत्त शर्मा, आस्था भुषाल, हरीप्रसाद ढकाल र शिव पोख्रेलले सहजीकरण गरेका थिए।
तपाईको प्रतिक्रिया