लेखनाथमा यःमरी उत्सवको रौनक, नेवारी संस्कृति झल्कियो

लेखनाथ । नेवाः मिस पुच लेखनाथले आयोजना गरेको प्रथम यःमरी उत्सवले स्थानीय कला र संस्कृतिको जगेर्ना गरेको छ। ‘स्थानीय कला र संस्कृतिको प्रवद्र्धन गरौँ’ भन्ने उद्देश्यले आयोजित यस उत्सवमा नेवारी समुदायको मौलिक परिकार यःमरीलाई केन्द्रमा राखी विभिन्न सांस्कृतिक कार्यक्रम गरिएका थिए।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उत्सवको उद्घाटन गर्दै नेवार समुदायको संस्कृति संरक्षणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताए। उनले यस्ता उत्सवले नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे सचेत बनाउन मद्दत गर्ने बताए।
लेखनाथ मिस पुचकी संस्थापक अध्यक्ष मेनुका क्षेष्ठले यःमरीको ऐतिहासिक महत्व र यस उत्सवको उद्देश्यबारे प्रकाश पारेकी थिइन्। उनले यःमरी उत्सवले नेवारी परिकार र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउन मद्दत गर्ने बताइन्।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, लेखनाथ नेवाः खलका कार्यवाहक अध्यक्ष प्रकाशलाल श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी, कास्की नेवाः खलका अध्यक्ष अशोक पालिखे, नेवाः मिस पुचः कास्कीकी अध्यक्ष संगिता बज्राचार्य लगायतले यःमरी उत्सवको महत्वबारे बोलेका थिए।
नेवार समुदायमा नयाँ बालीका रुपमा धान भित्र्याएपछि योमरी बनाएर देवीदेवतालाई पूजा गरी यो पर्व मनाउने गरिन्छ। योमरीमा चाकु, तिल, नरिवल वा खुवा वा मास पिनेको वा किमा मासु लगायतका विभिन्न सामग्री राखी त्रिकोण आकारको वा लाम्चो आकारको बनाई बाफले पकाइन्छ। योमरीले जाडोमा शरीरलाई न्यानो बनाउने र चिसोबाट लाग्ने रोगबाट बचाउने भएकाले स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ।
यस उत्सवको मुख्य उद्देश्य नेवारी समुदायको मौलिक संस्कृतिलाई जोगाउनु र नयाँ पुस्तालाई यस संस्कृतिबारे जानकारी गराउनु हो। यस्तै, यःमरी जस्तो परम्परागत खानालाई प्रवर्द्धन गर्नु पनि यस उत्सवको उद्देश्य हो।
नेवा मिसाः पुचाः की अध्यक्ष मिनाकुमारी श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको स्वागत उपाध्यक्ष पवित्रा श्रेष्ठ र कार्यक्रमको संचालन सचिव संगिता श्रेष्ठले गरेकी थिइन्।
तपाईको प्रतिक्रिया