पोखरा विश्वविद्यालयको उपकुलपतिमा वेदराज केसी नियुक्ति

पोखरा ।
पोखरा विश्वविद्यालय(पियु)को उपकुलपतिमा डा वेदराज केसी नियुक्त भएका छन् । शिक्षा मन्त्री विद्या भट्टराई संयोजकत्वमा गठित सिफारिस समितिले पठाएका ३ जनाको नाममध्येबाट केसीलाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन् ।
नेपालगञ्जको महेन्द्रबहुमुखी क्याप्पसमा प्राध्यापनरत केसी नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष हुन् । प्रधानमन्त्रीले नेपाल संस्कृत विश्वविद्यालयमा प्राडा धनेश्वर नेपाल र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राडा शारदा थपलियालाई उपकुलपतिमा नियुक्ति गरेका छन् ।
पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २४ अनुसार, उप–कुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । मानविकी तथा सामाजिकशास्त्र संकायका डिन सह–प्रा.डा. अजय थापा र स्वास्थ्य विज्ञान संकायका डिन सहप्राडा अमर नागिला सदस्य रहेको समितिले १२ जना आवेदकमध्येबाट अन्तर्वार्ता र कार्ययोजनाको मूल्यांकन गरी तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार, प्राडा केसीलाई ४ वर्षका लागि उप–कुलपतिमा नियुक्त गरिएको हो ।
संगठनको महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज इकाईका संस्थापक सदस्यका रूपमा केसीले योगदान पुर्याएका कार्यकालसम्म केन्द्रीय अध्यक्ष र दुई पटक उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।
२०२४ सालमा रोल्पाको गैरिगाउँमा जन्मिएका प्राडा केसीले त्रिभुवन विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातक र स्नातकोत्तर अध्ययन पूरा गरेका हुन् । उनले महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा प्राध्यापन गर्दै आएका थिए । सौर्य ऊर्जा र फोटोभोल्टाइक प्रविधिमा केन्द्रित अनुसन्धान गर्दै आएका उनका चार दर्जनभन्दा बढी अनुसन्धानपत्र विदेशी तथा स्वदेशी जर्नलहरूमा प्रकाशित भएका छन् ।
तपाईको प्रतिक्रिया