माछापालनमा जोडिँदै गुँदे सहकारी

समाधान संवाददाता २०८१ पुष ८ गते १२:०८

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीले आय आर्जनमा सहयोग पुग्ने गरी माछापालनलाई अगाडि बढाउने भएको छ ।

Advertisement


सहकारीको शनिबार भएकाे पाँचौं वार्षिक साधारण सभामा वक्ताहरुले स्थानीय निकाय र समुदायको सहकार्यमा माछापालनलाई अगाडि बढाउनुपर्ने सुझाव राखेका हुन् ।

पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले तालको संरक्षणदेखि यसको उपयोगमा सहकारी र वडा बीच आपसी समन्वयको आवश्यकता रहेको बताए । उनले तालको विकासमा सहयोग गर्न तयार रहेको बताउँदै ताल र वडाका बीचका समस्यालाई समझदारीबाट समाधान गरिने बताए ।


लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले माछापालनलाई व्यावसायिक बनाइ कास्कीलाई माछामा आत्मनिर्भर बनाउने सुझाव राखे । जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष छविलाल लामिछानेले ‘एक सहकारी, एक उत्पादन’ को अवधारणामा अघि बढ्नुपर्नेमा जोड थिए ।


गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीका अध्यक्ष वामदेव ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका अध्यक्ष सूर्यनाथ भण्डारी, खाष्टे मत्स्य कृषि सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद अधिकारी, सेयर सदस्य दीपक भण्डारी लगायतले स्थानीय निकाय र यहाँका सामाजिक संघसंस्थाबीच सहकार्य हुन सके जुनसुकै विकास निर्माणका कामले पनि सार्थकता पाउने विश्वास व्यक्त गरेका थिए ।

Advertisement

संस्थाका सचिव बद्रीनाथ ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यसमिति सदस्य सरस्वती ढुंगानाले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया