खराब मौसमले काठमाडौं आउन लागेका ८ हेलिकप्टर आकस्मिक अवतरण

समाधान संवाददाता २०७६ भदौ ३१ गते १३:३३

समाधान संवाददाता, काठमाडाैं

मौसमको खराबीका कारण एकैपटक आधा दर्जन बढी हेलिकप्टरले एकै क्षेत्रमा आकस्मिक अवतरण गरेका छन् ।

काठमाडौं विमानस्थलमा आउँदै गरेका अधिकांस हेलिकप्टर काभ्रे,सिन्धुली जिल्लाका विभिन्न ठाउँमा अवतरण गरेका हुन् ।

Advertisement

सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखाल नगरपालिका स्थित वडा नम्बर २ मा रहेका धानखेतमा आकस्मिक अवतरण भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार मौसम प्रतिकुल भएपछि एकैपटक धेरै हेलिकप्टर अनुकुल ठाउँमा अवतरण गरेका हुन् ।

Advertisement

उनका अनुसार हेलिकप्टर तथा यात्रुलाई भने केही भएको छैन ।

‘काठमाडौं आउँदै गरेका ८ वटा हेलिकप्टर विभिन्न ठाउँमा अवतरण गरेको हामीले सूचना पाएका छौं । यसबाट कुनै पनि क्षति भएको छैन । मौसममा सुधार भएपछि ती हेलिकप्टर उड्छन्’ तिवारीले भने ।

गएको केहीदिनदेखिको मौसमी प्रतिकुलताले लुक्ला उडान प्रभावित हुँदै आएको छ । लुक्लामा नियमित जहाज उडान नभएपछि हेलिकप्टरको चाप धेरै देखिएको छ ।

सोही क्रममा आज काठमाडौंको मौसम खराब भएपछि हेलिकप्टर आकस्मिक अवतरण गरेको विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया