
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको २ वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । यद्यपि यो बिचमा ९ वटा चार्टर्ड उडान भने भएका छन् । विषेशगरी पोखरामा हुने महत्वपूर्ण इभेन्टका लागि उडान भइरहेका छन् । अहिलेसम्म एउटामात्रै व्यावसायिक उडान भएको छ ।
यो बिचमा विमानस्थलबाट ठूलो जहाज टेक अफमा समस्या पर्ने भन्ने गलत भाष्य निर्माण भएको थियो । यसलाई चिर्नका लागि यहाँका सरोकारवालाहरु प्रतीक्षा गरी बसेका थिए । विशेषगरी पर्यटन व्यावसायीहरु पोखराको विमानस्थलमा फुल लोडमा ल्यान्ड भ एपनि टेक अफमा समस्या भएको भ्रम चिर्न लागिपरिरहेका थिए ।
बिहीबार उनीहरुले राम्रो मौका पनि पाए । पोखरामा पुस १४ र १५ गते हुने नेपाल चिन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगितामा सहभागी हुने खेलाडी बाकेर चीनको छेन्दुबाट पूर्ण क्षमतासहित १ सय २९ यात्रु (क्रु मेम्बरबाहेक) बोकेर सिचुआन एयरलाइन्सको ‘एयरबस ३१९’ जहाज सफल अवतरण भयो । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभस एजेन्टस् (नाट्टा) गण्डकीले त्यही जहाजसँग समन्वय गरी फुल लोड टेक अफ गर्ने योजना बनायो ।
त्यसमा नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि साथ दियो । सोही अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी, गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालको टिम, पोखराका पर्यटन व्यवसायी र पत्रकारसहित उक्त विमान केही समयपछि नै १ सय २६ जना यात्रु (क्रू मेम्बरबाहेक) बोकेर काठमाडौंतर्फ उड्यो ।
पोखरा विमानस्थलमा झैं काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज सफल अवतरण भयो । त्यसपछि सबैले फुल लोड टेक अफमा समस्या रहेको भ्रम चिरिएको प्रतिक्रिया दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) महानिर्देशक प्रदीप अधिकारीले पोखरा विमानस्थलमा कुनै पनि प्राविधिक समस्या नरहेको दाबी गरे ।
अब यसलाई कसरी नियमित बनाउने र कस्ता जहाजलाई अवतरण गराउने भन्ने विषयमा छलफल हुनुपर्ने उनको भनाइ छ । गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पनि पोखरा विमानस्थल सम्पूर्ण गण्डकी प्रदेशवासीको आशा र भरोसा भएकाले तत्काल नियमित रुपमा अन्तर्राष्ट्रिय उडानमा जोड दिए । यसमा मन्त्रालयले गर्ने सहजीकरणमा कुनै कमी नगर्ने उनले प्रतिवद्धता जनाए ।
पर्यटनको राजधानी घोषणा भएको अवस्थामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छिटो चालु हुनुपर्नेमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीको जोड छ । ‘सडक मार्ग बनिरहेको अवस्थामा हवाई मार्ग अहिलेको आवश्यकता बनेको छ,’ उनले भने, ‘पोखरा विमानस्थलका बारेमा फैलिएको भ्रम आजको फुल लोड टेक अफले चिरेको छ । अब केही बहानाबाजी नगरी नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल थालिनुपर्छ ।’
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएका भ्रम सबै चिरिएको बताउँछन् । नाट्टा गण्डकी अध्यक्ष किशोर दाहालले पोखरामा अध्यागमन, भन्सार, श्रम, शिक्षा, स्वास्थ्य पररास्ट्र मन्त्रालयका सम्बन्धित कार्यालय तथा अन्तर्राष्ट्रिय जहाज कम्पनीका शाखा स्थापना गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरी सबैको सहकार्यमा भएमा व्यावसायिक उडान सफल हुने उनको तर्क छ ।
ड्रागन बोट रेसमा भाग लिन चिनिया खेलाडी पोखरामा
नयाँ वर्ष सन् २०२५ को अवसर पारेर पोखरा महानगरपालिका, चिनियाँ दूतावास र ड्रागन बोट एसोसिएसनले आयोजना गरेको ‘ड्रागन बोट रेस’ मा भाग लिन चिनियाँ खेलाडी पोखरा आइपुगेका हुन् । उनीहरु बिहीबार छेङ्दुबाट १ सय २६ यात्रु लिएर सिचुआन एअरलाइन्सको चार्टर्डमार्फत पोखरा आएका हुन् ।
दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता पुस १४ र १५ गते हुँदै छ । फेवा तालमा आयोजना हुने प्रतियोगिताका लागि चिनियाँ खेलाडी आएका हुन् । चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल आयोजना भएको थियो ।
ड्रागन बोट रेसमा भाग लिन आएका खेलाडीलाई पोखराका मेयर धनराज आचार्य लगायतको टोलीले स्वागत गरेको छ । प्रतियोगितामा नेपाल, चीन र सिंगापुरका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नेपालबाट ११, चीनबाट ८ र सिंगापुरको एक टोली प्रतियोगितामा सहभागी हुने तय छ ।

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया