पोखरामा इ–प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप पुस २७ देखि

पोखरा ।
इ–प्लानेट एजुकेसनल कन्सल्टेन्सीको सहकार्यमा ‘इ–प्लानेट नेशनल हाइस्कुल क्रिकेट च्याम्पियनसिप–२०८१’ को छनोट प्रतियोगिता पोखरामा पुस २७ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले भाग लिने पाउने आयोजकले जनाएको छ । गण्डकी प्रदेश अन्तर्गतका हाइस्कुलको प्रतिस्पर्धा पोखरा रंगशालामा हुने इ–प्लानेट पोखरा ब्रान्च डाइरेक्टर आदीम अधिकारीले जानकारी दिए । उनका अनुसार पोखरामा पुस २७ गतेदेखि २९ गतेसम्म छनोट प्रतियोगिता हुनेछ ।
‘गण्डकी प्रदेशका स्कुलहरुलाई दर्ताका लागि आवेदन खुला गरिसकेको उनले बताए । छनोट प्रतियोगितामा सहभागी हुन १० हजार रुपैयाँ शुल्क लाग्ने अधिकारीले सुनाए ।
‘यो बिचमा केही विद्यालयहरु दर्ता भइसक्नु भएको छ । दर्ता भएका मध्ये एउटा विद्यालय छनोट हुन्छ, त्यो टिमले ५० हजार पुरस्कार पाउँछ,’ डाइरेक्टर आदीमले भने, ‘त्यसपछि सात प्रदेशबाट छनोट भएका ७ टोली मध्ये काठमाडौंमा प्रतिस्पर्धा हुन्छ । विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार पाउँछ ।’
फाइनल चरणको प्रतियोगिताको उप–विजेता टोलीले भने ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । फाइनल चरणको प्रतियोगितामा विभिन्न चार विधामा सर्वोत्कृष्ट घोषित हुने खेलाडीलाई पनि जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान जनाइएको छ ।
हाइस्कुलका युवा खेलाडीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले इ–प्लानेटले राष्ट्रव्यापी प्रतियोगिता आयोजना गर्न लागेको हो । जसअन्तर्गत गण्डकी प्रदेश अन्तर्गत खेल गर्न लागेको डाइरेक्टर अधिकारीले सुनाए । प्रतियोगिताका छनोट खेलहरू सकिएपछि फाइनल चरणको प्रतियोगितामा सहभागी गराइने छ । फाइनल चरणको प्रतियोगिता माघ ९ देखि १२ गतेसम्म काठमाडौंमा हुने डाइरेक्टर अधिकारीले बताए ।
तपाईको प्रतिक्रिया