रेडक्रसको प्राथमिक उपचार तालिम

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाले रेडक्रसकर्मीलाई आधारभूत प्राथमिक उपचार तालिम दिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को आर्थिक सहयोगमा भएको तालिममा २४ जनाको सहभागिता रहेको पोखरा १७ उपशाखाका सभापति हरि श्रेष्ठले जानकारी दिए ।
तालिममा रेडक्रस सोसाइटी कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्का, नवराज भण्डारी, सूर्यप्रसाद तिमिल्सिना (पालुवा), मित्रलाल सुवेदी, लीला अधिकारी देवकोटा र शिरिसा ढकालले सहजीकरण गरेका थिए । पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले रेडक्रसले विपद् व्यवस्थापन र मानवीय सेवाको क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन् । उनले रेडक्रसको सबै अभियानमा वडा कार्यालयले सहकार्य गर्दै आएको जनाइन् ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा पौडेलले रेडक्रसले रक्त सञ्चार सेवाका अलवा प्राथमिक उपचारको तालिमलाई जनस्तरमा पु¥याएको बताए । उनले सवारी दुर्घटना, भूकम्प, प्राकृतिक प्रकोपमा परेका घाइतेलाई समयमा प्राथमिक उपचार गर्न सके ज्यान जोगाउन सकिने उल्लेख गरे । उनले आर्थिक र भौतिक रुपमा सुविधा सम्पन्न पोखरा १७ उपशाखा सबैले हेर्ने खालको नमुना उपशाखा रहेको जनाए ।
कार्यक्रममा रेडक्रस सोसाइटी कास्की उपसभापति उर्मिला खड्काले हरेक प्रकारको विपद्को व्यवस्थापनसँगै रेडक्रसले डेंगी रोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा प्रभावकारी ढंगले काम गरेको जानकारी दिइन् । उनले रेडक्रस कास्कीले रेडक्रसका ४८ उपशाखामार्फत समुदाय स्तरमा मानवीय सेवाको क्षेत्रमा काम गरेको उल्लेख गरिन् ।
तालिमका सहभागीमध्ये प्रथम सन्ध्या श्रेष्ठ, द्वितीय सविता भण्डारी सुवेदी र तृतीय सिर्जना अधिकारी शर्मालाई पुरस्कार प्रदान गरिएको छ । रेडक्रस कास्कीका सभापति पौडेलले सहभागीलाई प्रमाणपत्रको अलवा प्राथमिक उपचारको ब्याग प्रदान गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाका पूर्व सभापति तीर्थराज अधिकारी, सचिव चूडामणि बराल, उपसचिव नारायण शर्मा कार्यक्रम संयोजक सविता भण्डारी सुवेदी, पोखरा १७ का वडा सचिव सुरेन्द्र शर्मा, सहभागीहरु प्रणाथ पौडेल र सञ्चिता शर्मा लगायतले प्राथमिक उपचार तालिमको महत्वबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया