कृषकको पनि बन्यो लेखनाथ महोत्सव
कृषिका २४ स्टलमध्ये ताजा तरकारीका ६, सुन्तला तथा फलफूलका ५, मौरीका ६ र अन्य कृषिसँग सम्बन्धित छन्

भीमपाणि बराल । लेखनाथ
पुस १८ गतेदेखि कास्कीको लेखनाथमा जारी २०औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । महोत्सवमा कुल ३३६ स्टलमध्ये कृषि उत्पादनका मात्रै २४ स्टल रहेका छन् । त्यति मात्र होइन, महोत्सवमा वृहत् कृषि मेला प्रदर्शनीको पनि व्यवस्था मिलाइएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७२ भन्दा बढी किसानहरूले विभिन्न किसिमका कृषि उपजहरू प्रदर्शनीमा राखेका छन् ।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा राखिएको प्रदर्शनीमा विभिन्न किसिमका फलफूल तथा तरकारी, बीउबिजन, कृषि प्रविधिहरूका उत्कृष्ट नमुनाहरू राखिनुका साथै माटोको उर्वराशक्ति तथा क्षमता, अम्लीयता कस्तो छ भनेर किसानलाई जानकारी पनि दिने गरिन्छ । प्रदर्शनीमा सहभागी किसानहरूमध्येबाट उत्कृष्ट हुनेलाई पुरस्कृत पनि गरिने संघका कृषि उप–समितिका संयोजक खेमराज वरालले जानकारी दिए ।
महोत्सवमा रहेका कृषिका २४ स्टलमध्ये ताजा तरकारीका ६, सुन्तला तथा फलफूलका ५, मौरीका ६ र अन्य कृषिसँग सम्बन्धित स्टल छन् । माछाका स्टलमा बेगनासताल, रुपाताल, खास्टेताल र न्युरेनीतालका माछाहरू संकलन गरेर बिक्रीका लागि राखिएको छ । महोत्सवमा दैनिक रूपमा सरदर ५० केजीभन्दा बढी माछा बिक्री हुने गरेको कृषि उप–समितिका सल्लाहकार दयाराम तिवारीले जानकारी दिएका छन् ।
वि.सं. २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएको लेखनाथ महोत्सवमा कास्की र आसपासका जिल्लाहरूबाट ल्याइएका सुन्तलाहरू पनि दर्शकहरूले खरिद गर्न पाउनेछन् । सुन्तलाका ५ वटा स्टलमा कास्कीको पुम्दी, बागलुङ, पर्वत र स्याङ्जामा उत्पादन भएका सुन्तलाहरू राखिएका छन् । ती स्टलमा दैनिक सरदर तीन सय केजीभन्दा बढी सुन्तला बिक्री हुने गरेको छ ।
ताजा तरकारीमा स्थानीय क्षेत्रकै उत्पादनहरूको बाहुल्यता छ । लेखनाथमै उत्पादन भएका तरकारीदेखि कास्कीको हेमजासम्मका उत्पादनहरू स्टलमा देख्न पाइन्छ । विभिन्न कृषक समूह, आमा समूहहरूले स्थानीय किसानका उत्पादनहरू संकलन गरी महोत्सवमा बिक्री वितरणको व्यवस्था समेत मिलाएको पाइन्छ । सँगै महोत्सवमा रहेका विभिन्न होटल तथा रेस्टुराँहरूले महोत्सवमा रहेका कृषि उपजका स्टलबाटै सामान खरिद गर्ने गरेका छन् ।
कृषि उत्पादनमा लेखनाथलाई कुनै निश्चित ब्रान्डको रूपमा स्थापित गर्न नसकिएको भए पनि स्थानीय स्तरमा उत्पादन भएका विभिन्न कृषि उत्पादनले भने महोत्सवमा राम्रो बजार पाएका छन् । स्थानीय तालका माछा, मह, फलफूल, ताजा तरकारी, जडीबुटी, विभिन्न स्थानीय प्रजातिका जेठोबुढो, गुर्दी, घैया, मन्सरा लगायतका चामल जस्ता कृषि उपजको किनमेल मात्रै होइन, महोत्सव भित्र अवलोकन गर्न आउने दर्शकहरूले कृषि सम्बन्धी परामर्श र कृषि व्यवसायमा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीहरूको अवलोकन पनि गर्ने गरेका छन् । यसले कृषि उत्पादनको बजारीकरण र प्रवद्र्धनमा टेवा पुर्याउनुका साथै लेखनाथ महोत्सवलाई कृषकको पनि महोत्सवको रूपमा स्थापित गराएको छ ।
यसैगरी, यसपालिको लेखनाथ महोत्सवमा पहिलो पटक महिला हक, अधिकारसँग सम्बन्धित रहेर आयोजित महिला हाजिरीजवाफ प्रतियोगिता दर्शकको रोजाइमा परेको छ भने युवालाई लक्षित गरी कन्सर्ट तथा लोकदोहोरी गीतका पारखीहरूका लागि लोकदोहोरीका कलाकार ल्याएर थप रोचक बनाएको प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु) ले बताएका छन् ।
यसैबीच, महोत्सवको सातौं दिन बुधवार करिब १२ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् भने आर्थिक कारोबारतर्फ ३५ लाख बराबरको भएको र हालसम्म दर्शकतर्फ एक लाख आठ हजार र कारोबार तीन करोड ३५ लाख भएको महोत्सवका प्रचारप्रसार उप–समितिका संयोजक जानुका अधिकारीले जानकारी दिएकी छन् ।
महोत्सवको पनि महोत्सवका रूपमा चिनिएको लेखनाथ महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, जातजातिको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रदर्शनी रहने छन् । महोत्सवमा ख्यातिप्राप्त हास्यव्यंग्य कलाकारहरूको दैनिक प्रस्तुति, बालउद्यान, खाना महोत्सव, राष्ट्रिय लोकदोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आकर्षणका रूपमा राखिएको छ ।
तपाईको प्रतिक्रिया