भगवतीटार मेलाको तयारी तीव्र

समाधान संवाददाता २०८१ पुष २५ गते १२:१३

पोखरा ।
कास्कीको मादी गाउँपालिकामा माघे संक्रान्तिको अवसरमा लाग्ने मेलाको तयारी तीव्र पारिएको छ । बरालडाँडा भगवतीबजार माघे संक्रान्ति मेलाका लागि आवश्यक तयारी तीव्र गतिमा गरिएको आयोजक बरालडाँडा तमु समाज सेवा समितिका अध्यक्ष चुमप्रसाद गुरुङले जानकारी दिए ।

Advertisement


मादी नदीको किनारमा अवस्थित भगवती मन्दिर परिसरमा यो मेला पौराणिक कालदेखि लाग्दै आएको छ । विशेषगरी उक्त दिन मादी नदीमा स्नान गरी भगवती मन्दिरको आराधना गर्ने, उपवास बस्ने गरिन्छ । उक्त क्षेत्रका साथै कास्की, लमजुङ र तनहुँका मानिसहरूले भगवती देवीलाई विशेष महत्वका साथ लिने गर्छन् ।


मेलाको अवसरमा माघ १ गतेदेखि वडा–स्तरीय भलिबल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, भजन चुड्का प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ ।

Advertisement

मेलामा राष्ट्रिय कलाकार लोकगायक चिज गुरुङ, नीरजला गुरुङ, जीवन दाहाल, मधु थापा मगरलगायतको उपस्थिति रहने आयोजकमध्ये बरालडाँडा युवा क्लबले जानकारी दिएको छ । प्रतियोगितामा भलिबलतर्फ प्रथम पुरस्कार १ लाख तथा द्वितीय पुरस्कार साठी हजार राखिएको छ । छेलो च्याम्पियनलाई २० हजार पुरस्कार राखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया